काठमाडाैँ - विद्यालयमा परम्परागतदेखि अत्याधुनिक प्रविधिका सीपहरू बालबालिकालाई सिकाउने क्रम बढेको पाइन्छ। ओखलढुङ्गाको सामुदायिक विद्यालयमध्ये मानेभञ्ज्याङ गाउँपालिका-५ मा रहेको भगवती माध्यमिक विद्यालयले ‘बुक फ्रि डे’ अर्थात् पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन गरेको छ। चालु शैक्षिक शत्रको तीन दिन किताबभन्दा बाहिरको गाउँ समाज र संस्कारसँग सम्बन्धित सीपहरु विद्यार्थीलाई सिकाइने प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाले बताए।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको रुचीअनुसार कपाल काट्ने, धुवाँरहित चुल्हो निर्माण, चोया, पात, खर, मकैका खोसेला (खोस्टा) र परालबाट बन्ने विभिन्न सामग्री बनाउन सिकाइएको प्रधानाध्यापक बास्तोलाले जानकारी दिए।
यस्तै, बात्ती कात्ने, दाम्लो, नाम्लो, डोरी, पिरा, दुना, टपरी, ठहर, बोहती, डोको, पेरुङ्गोजस्ता सामग्रीहरू बुन्नु, उन्नु सिकाइएको बास्तोलाको भनाइ छ। आफ्नै घर तथा स्थानीय स्तरमा पाइने आवश्यक सामग्री, कैँची, काँगियो, चोया, पात, बाबियो, खर, खोस्टा, कपास र पुराना कागज लगायतबाट सामग्री निमार्ण गर्ने सीप विद्यार्थीहरुलाई दिइएको उनको भनाइ छ। आगामी दिनमा संस्कार, व्यवहार र पाक कलासँग सम्बन्धित सीपहरु विद्यार्थीलाई सिकाउने योजना रहेको प्रधानाध्यापक बास्तोलाले बताए।
किताबी ज्ञानसँगै विद्यार्थीलाई व्यवहारिक सीप सिकाउन आवश्यक रहेको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए। विद्यार्थीलाई व्यवहारिक सीप र ज्ञान दिलाउने विषयमा गाउँपालिकाले योजना बनाएर लागेको अध्यक्ष रुम्दालीको भनाइ छ। यस अघि विद्यार्थीलाई विद्यालयमै सङ्गित कक्षा सञ्चालन लगायतको काम गरिएको उहाले जानकारी दिए। बाल कक्षादेखि १२ सम्म पठनपाठन हुँदै आएको भगवती माध्यमिक विद्यालयमा करिब छ सय जना विद्यार्थी छन्।