काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको विवरण १० दिनभित्र उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ।
रेक्टर कार्यालय अन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिन भित्र विवरण पठाउन निर्देशन दिएको हो।
‘अध्ययन बिदामा गएका शिक्षकको विवरण मागेका छौँ। १० दिनभित्र विवरण नपठाए सम्बन्धित निकायका प्रमुख जिम्मेवार हुन्छन्,’ समन्वय महाशाखा प्रमुख दीपक तिवारीले भने। त्रिविका सबै निकायमा विवरण पठाउने ढाँचासहितको पत्र पठाइएको उनले जानकारी गराए।
महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने बताएको छ। ‘विवरण आएपछि सबै सार्वजनिक गर्छाैँ। गरिब देशको कर खाएर बस्न मिल्दैन। कसैलाई पनि छुट दिँदैनौँ। त्रिविबाट खाएको रकम उठाउँछौँ,’ रेक्टर खड्क केसीले भने।
२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन्। पछिल्लो १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन्। तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने तथ्यांक त्रिविसँग छैन।
१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ। त्रिविका ५४ जना शिक्षक सम्पर्कमा छैनन्। ५४ शिक्षकबाट मात्रै पनि ८ करोड बढी फिर्ता गर्नुपर्ने देखिन्छ। विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ३० मा शिक्षक तथा कर्मचारीलाई बढीमा ५ वर्षसम्म अध्ययन बिदा दिन सकिने, ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ।
यदि नफर्किएमा आफूले बिदामा बसेको अवधिको सबै तलब भत्ता फिर्ता गर्नुपर्ने हुन्छ। थप १२ प्रतिशत ब्याज समेत तिर्नुपर्ने हुन्छ। तर धेरैजसो शिक्षक अध्ययन बिदामा बसेर उतै बस्ने गरेको पाइएको छ।