काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रवारदेखि काठमाडौँमा सुरु भएको छ। काठमाडौँको हायत होटलमा आयाेजित कार्यक्रमको उद्घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले निजी विद्यालयको माग पुरा हुने गरी विद्यालय शिक्षा विधेयक जारी हुने बताएका हुन्।
संसदमा पेस हुनु भन्दा अघि नै निजी विद्यालयको समस्या सम्बोधन हुने गरी विधेयक पेस भइसकेको र पारित हुँदा पनि थप परिष्कृत गरेर पारित गर्न समन्वय गरिने उनले बताए।
‘यो विधेयक मेरो नेतृत्वको सरकारले संसदमा पेस गरेको हो,’तेस्रो प्याब्सन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने,‘तपाईँहरूको सुझावलाई ध्यान दिँदै कार्यदल बनाएर तपाईँहरूको विषय सम्बोधन हुने गरी विधेयक संसदमा पुगेको हो। संसदमा पुगेको विधेयक छलफल गरेर निष्कर्षमा पुर्याउन सकेका छैनौँ।
आउँदो अधिवशेनमा पारित गर्ने योजना छ।’ सरकारले ल्याएको विधेयकमा सम्बोधन नभएका विषयमा सांसदहरूले संशोधन हालेको उनले बताए। उनी भन्छन्,‘संशोधन सहित पारित हुँदा अहिले भोगिरहेको नीतिगत र व्यवहारिक सबै सम्बोधन हुनेछ।’
संसदमा रहेको शिक्षा ऐन कहिले आउँछ भन्ने सबैलाई चासो रहेकाे उनले बताए। आफूले प्रस्तुत गरेको विधेयक पारित गर्न पनि आफैले भूमिका खेल्ने उनले बताए।
‘यो मेरो प्रयत्नमा विधेयक आएको हो। अब पारित गर्न पनि म नेतृत्व लिन्छु,’उनले भने,‘ तपाईँहरूकै सल्लाहमा हालेको संशोधनमा छलफल गरेर पारित सहजीकरण गर्ने विश्वास दिलाउँछु। जायज माग सम्बोधन गर्ने कुरामा सबैको योगदान रहनेछ।’ निजी विद्यालयले लिने शुल्क र शुल्कको विषय पनि यही विधेयकमा टुङ्गिने उनले बताए।
यस्तै कार्यक्रममा बाेल्दै प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले मुलुकको विद्यालय शिक्षा सुधार गर्न निजी र सामुदायिक विद्यालयसँगसँगै रहेको बताएका छन्। सहर र दुरराजमा अन्तर्राष्ट्रिय स्तरका सामुदायिक विद्यालय सरहको शिक्षा दिने निजी विद्यालय रहेको उनले बताए।
‘अन्तर्राष्ट्रिय स्तरको र सामुदायिक सरह सुविधा दिने निजी विद्यालय पनि छन्,’तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले भने,‘लामो समय देखि गुणस्तर अभिवृद्धिमा सामुदायिक विद्यालयलाई पनि सँगै लैजानु पर्छ भनेर प्याब्सनले काम गरिरहेको छ।’
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्याब्सन सम्मेलनमा सामुदायिक विद्यालयका ३५ जना प्राचार्यलाई समेत सहभागी गराएको उनले बताए। ६ अर्बको लगानी, चार लाखलाई रोजगारी दिएको निजी विद्यालयले ७३ जिल्लामा फैलिएको ढुङ्गानाले बताए। संसदमा विधेयक लैजानु अघि प्याब्सनले राखेको माग सरकारले सम्बोधन गरेको उनले बताए।
काठमाडौँको हायत होटलमा भइरहेको यस वर्षको सम्मेलन शनिवारसम्म चल्नेछ। सम्मेलनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहजीकरण गरेकाे छ भने ब्रिटिस काउन्सिलको प्राविधिक सहयोग रहेकाे छ। सम्मेलनमा फिनल्यान्ड, बेलायत, क्यानडा, दक्षिण एसियाका शिक्षासम्बन्धी विज्ञ एवं प्रतिष्ठित वक्ताहरू सम्मेलनमा सहभागी भएका छन्।