काठमाडाैँ - भक्तपुर नगरपालिकाले सुरु गरेको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
आर्थिक अभावका कारण पढाइबाट वञ्चित विद्यार्थीलाई लक्षित गरी नगरपालिकाले विगत पाँच वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ। नगरवासी कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य नगरपालिकाले लिएको छ।
यसमार्फत अहिलेसम्म ७५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको नगरपालिकाले जनाएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले विद्यार्थीलाई नगरपालिकामार्फत पाँच लाख रुपैयाँसम्म ऋण दिइएको जानकारी दिए। कार्यक्रम सञ्चालनमा ल्याए पनि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उनले बताए।
नगरपालिकाका अनुसार शैक्षिक ऋण स्वीकृत भएकामध्ये जम्मा ४५४ जना विद्यार्थीले शैक्षिक ऋण लिएर अध्ययन गरिरहेका छन् भने ५१ जनाले ऋण चुक्ता गरिसकेका छन्। अहिलेसम्म नगरपालिकाले शैक्षिक ऋणमा १३ करोड ६९ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। एक करोड ६४ लाख ९४ रुपैयाँबराबरको साँवा ब्याज फिर्ता भइसकेको छ।
नगरप्रमुख प्रजापतिले भने, 'भक्तपुर नगरपालिकाको चौथो नगर सभा २०७५ सालदेखि शैक्षिक ऋण दिनेसम्बन्धमा बनेको निर्देशिका निर्माण गरी ऋण दिने व्यवस्था गरेको हो, यो कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ।'
ऋण लिनका लागि भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थी हुनुपर्ने, ऋण माग गर्ने विद्यार्थीले अध्ययन गरिने विषय सङ्काय र शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारद्वारा मान्यताप्राप्त हुनुपर्ने र शैक्षिक ऋण एसईई तहभन्दा माथिको शैक्षिक तहलाई मात्र दिइने गरी निर्देशिकामा उल्लेख छ। अध्ययन गर्दासम्म ऋण तिर्न नपर्ने र अध्ययन गरिसकेपछि क्रमशः धितोको रकम चुक्ता गर्दै जानुपर्ने व्यवस्था छ।
साथै नगरपालिकाद्वारा सञ्चालित दुई वटा इन्जिनियरिङ कलेजसहित सात वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थामा वर्षको चार करोडभन्दा बढी छात्रवृत्तिसमेत प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ।