काठमाडौँ - दुई बुँदे माग राखेर नेपाल खुला विश्वविद्यालयका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन्। स्थायी प्रक्रिया नगरेको र ऐनमा भएको सेवा सुविधा नपाएको भन्दै आज कार्तिक ११ गते देखि प्राध्यापक र कर्मचारी आन्दोलित भएका हुन्।
आन्दोलित प्राध्यापक र कर्मचारीले उपकुलपति र रजिस्ट्रार र डिन कार्यालयमा ताला लगाएका छन्।
सातौं सिनेटको बैठकले स्थायी प्रक्रिया अगाडि बढाउन निर्देश्नन दिएको थियो। तर, अहिलेसम्म पनि प्रक्रिया अगाडि नबढाएपछि आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका उपप्राध्यापक भोजराज घिमिरेले बताए।
‘विश्वविद्यालयको सातौ सभाले कार्यकारीलाई एक पटकको लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न निर्देशन दिएको थियो। शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको सभाले हो। फेरि अर्को सिनेट बस्ने तयारी छ। तर माग सम्बोधन भएन,’ उनले भने।
कार्यकारी परिषद्को आइतबारको बैठकमा सोमबार माग सम्बोधन गर्ने सहमति भएको थियो। तर, सोमबार निर्णय गर्ने भनिएको बैठक उपकुलपति शिलु मानन्धर बज्राचार्यले बैठक स्थगित गरेपछि आन्दोलनमा उत्रनु परेको घिमिरेले बताए। ‘निर्णय गर्न बस्ने भनिएको कार्यकारी परिषद्को बैठक अन्तिम समयमा स्थिगित हुनुमा आशंका छ। छलफल नगरी उहाँले बैठक स्थगित गर्नुभयो,’ घिमिरेले भने।
खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन्। ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो। तर, स्थायीको प्रक्रिया अहिलेसम्म नि अगाडि बढेको छैन।
‘सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाको व्यवस्था पनि वञ्चित गरिएको छ,’ घिमिरेले भने। प्राध्यापक र कर्मचारी गरेर ३५ जना आन्दोलित भएका हुन।
आन्दोलनमा उत्रिएका प्राध्यापक र कर्मचारीलाई उपकुलपति बज्राचार्यले प्रहरी प्रशासन लगाएर धम्की दिएकी छिन। ‘प्रहरी आएर ताला खोल्न धम्किए दिएर गए। प्रहरी उपकुलपतिले पठाउनु भएको हो,’ घिमिरेले भने।