काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाली र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई एक वर्षभित्र अलग गर्न कलेजहरुलाई निर्देशन दिएको छ। विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरुले नेपाली विश्वविद्यालयको कार्यक्रमहरु पनि एउटै भवन परिसरबाट दिँदै आएका छन्।
शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्यालले ती कलेजहरुलाई पत्र लेखी एक वर्षभित्र अलग अलग ठाउँबाट कार्यक्रम सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
‘एउटै भवन परिसरमा एक भन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाहरुले एक वर्षभित्र अनिवार्य रुपमा अलग अलग स्थानमा कार्यक्रम सञ्चालन गर्नुपर्ने’, मन्त्रालयले दिएको निर्देशनमा भनिएको छ।
त्यस्तै विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाले छुट्टाछुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको अविलम्ब व्यवस्था गर्नुपर्ने र निजहरुको सम्पर्क नम्बरसहितको नाम मन्त्रालयमा दिन पनि भनिएको छ।
मन्त्रालयले ती कलेजलाई वार्षिक शैक्षिक क्यालेण्डर र त्यसको कार्यान्वयन, कलेजमा हाल सञ्चालित कार्यक्रम, अध्ययनरत विद्यार्थी संख्या, शिक्षकहरु, भौतिक पूर्वाधार, कलेजका असल अभ्यास र भावी योजना समेटिएको प्रतिवेदन पनि माघभित्र बुझाउन भनेको छ। त्यस्तै तीन वर्षभित्र गुणस्तर सुनिश्चितता (क्यूएए) लिन निर्देशन दिएको छ।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर उपत्याकामा ४४ र उपत्यका बाहिर १५ गरी ५९ वटा कलेज सञ्चालनमा छन् भने २८ हजार ७३ विद्यार्थी अध्ययनरत छन्।
मन्त्रालयकाे पत्र