काठमाडाैँ - काठमाडौँको डिल्लीबजारमा रहेकाे विजय स्मारक माध्यमिक विद्यालयका छ जना शिक्षकलाई एकैपटक सरुवा गरिएको छ। विद्यालयमा चरम राजनीति हुँदै आएको कारण काठमाडौँ महानगरपालिकाले शिक्षक सरुवा गरेको हो।
सरुवा भएकामध्ये दुई जना शिक्षकले कार्तिक ३० गते शुक्रबार नै पत्र बुझेर नयाँ विद्यालयमा हाजिर भइसकेका छन्। नगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा ती शिक्षक सरुवा भएको महानगरपालिका सूत्रले जानकारी दिएको छ।
सरुवा हुनेमा शिक्षकहरु गाेविन्द ढकाल, नविन गजुरेल, डा. टीका ढकाल, इनु पहाडी, सुस्मिता राणा हमाल र ग्याम्सो लामा रहेका छन्। महिला शिक्षक सबै प्राथमिक तहका हुन् भने पुरुष सबै माध्यमिक तहका हुन्।
गत असोजमा गणित शिक्षक नवीन गजुरेलमाथि त्यहाँका महिला शिक्षकले हातपात गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको थियो।
सो घटनापछि महानगरले छानविन टोली गठन गरेको थियो। सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो। ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ।
नगरप्रमुख बालेन शाहका एक सल्लाहकारले नाम उल्लेख नगरिदिन ग्रह गर्दे भने, 'प्रधानाध्यापक डिल्ली शर्मालाई सरुवा गर्न चाहेका थियौँ तर उनको प्रअको समयावधि डेढ महिना जति बाँकी भएकाले शिक्षकलाई नै सरुवा गर्नु उपयुक्त ठहर्यायौँ।'