काठमाडाैँ- समृद्धि स्कुल बालाजुले विद्यार्थी केन्द्रित ‘प्यासन प्रोजेक्ट’ सञ्चालन गरेको छ। स्कुलले विद्यार्थीहरूको रुचिलाई ध्यानमा राख्दै उनीहरूको प्रतिभा प्रस्फोटन गर्ने उद्देश्यले सिकाइ अभ्यासको थालनि गरेको जनाएको हो।
विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै उनीहरूको रुचि अनुसारको विषयमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस Passion project मा विद्यार्थीले आफ्नो रुचिको विषयमा अनुसन्धानमुलक प्रस्तुति तयार गरेका थिए।
कक्षा ९ मा अध्ययरत प्रस्तुति विष्टले आफूलाई पौडीमा रुचि भएकाले यसैविषयमा अध्ययन गरेर पौडि खेलको विषयमा सम्पूर्ण जानकारी तयार गरेको बताइन्। उनले आफूलाई पौडिमा रुचि भएकाले यसै विषयमा अध्ययन गर्न पोडि पोखरीमा गएको र यसै विषयमा विभिन्न किताबमा उल्लेख भएका विषय अध्ययन गर्दा रमाइलो लागेको सुनाइन्। विद्यालयले यस्तो अभ्यास विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसँग जोड्न अवसरको रुपमा उपयोगी भएको जनाएको छ।
विद्यार्थीको इच्छा र चाहनालाई मध्यनजर गर्दै उनीहरूको रुचि अनुसारका (नृत्य, बाध्यबाधन, गायन, योगा, पाककला, चित्रकला, खेलकुद, लेखरचना) लगायतका विषयमा विद्यार्थीलाई अध्ययन अनुसन्धान गरेर प्रदर्शन र प्रस्तुति गर्न लगाइएको विद्यालयका प्राचार्य अमित विक्रम सिजापतिले जानकारी दिए। उनले विद्यार्थीका लागि सिकाइ स्वरुप सञ्चालन गरिएका यस्ता क्रियाकलापले विद्यार्थीको वृत्ति विकासमा टेवा पुग्नेमा जोड दिए।
विद्यालयको कक्षा ४ मा अध्ययनरत निरिसा महर्जनले आफूलाई चित्रकलामा रुचि भएकाले फूलको चित्र तयार पारेको बताइन्।
यस्तै कक्षा ९ मा अध्ययनरत सिमा महर्जनले पनि मण्डलको चित्र बनाएर त्यसको बारेमा वर्णन गरेकी थिइन्।
विद्यार्थीले चित्रकलासँगै नृत्य, गायन, पौडी लगायतका विषयमा आफ्नो प्रस्तुति दिएका थिए।
विद्यार्थीलाई यस्ता क्रियाकलापमा जोड्दा उनीहरूको रुचिलाई बाहिर ल्याउन सकिने समृद्धि स्कुल प्राथमिक तहकी उपप्राचार्य रोसिटी डेला तामाङले जानकारी दिइन्। विद्यालयले चाडपर्वको विदाको समयलाई सदुपयोग गर्न विद्यार्थीलाई गृहकार्य स्वरुप प्यासन प्रोजेक्ट सञ्चालन गरेको थियो।