काठमाडाैँ- ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)मा कम्प्युटरको एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ। कम्प्युटर (हार्डवेयर) भएर मात्र हुँदैन, त्यसलाई सरल र सहज रूपमा सञ्चालन एप्लिकेसन आवश्यक पर्छ। बीसीएमा विद्यार्थीलाई एप्लिकेसन निर्माण गर्न सिकाइन्छ। बीसिए त्रिभुवन विश्वविद्यलाय अन्तर्गत अध्यापन हुने चार वर्षे ८ सेमेस्टरको कोर्स हो।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यलायले बीसीए विषयलाई साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत राखेको भएपनि नेपालमा आईटीसम्बन्धी कोर्स अध्यापन हुने यस विषयलाई त्रिभुवन विश्वविद्यालयले मानविकी संकाय अन्तर्गत सञ्चालन गरेको छ। त्रिभुवन विश्वविद्यलायको सम्बन्धनमा बीसीए कार्यक्रम सञ्चालन गर्दै आएको बर्नहार्ट कलेजका आईटी विभाग प्रमुख अभिमन्यु यादवले बीसीएको स्कोप राम्रो भएको र बजारमा यसको जनशक्तीले राम्राे काम गर्ने बताए। उनका अनुसार ,‘बीसीए अप्लाईड कोर्स हो। कम लागतमा आईटी कोर्स अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो उत्तम विकल्प हो। सबै संकायका विद्यार्थीले पढ्न पाउने भएकाले पनि यसको पाठ्यक्रमलाई बहुआयामिक ढंगबाट विकास गरिएको छ।’
पछिल्लो समय नेपालमा प्राविधिक जनशक्तीको माग बढ्दो भएको र सूचना प्रविधि तर्फका जनशक्ती वेरोजगार हुनुनपर्ने उनको भनाई रहेको छ। अहिले मोवाइल एपबाट बत्ती बाल्ने–निभाउने, टेलिभिजनको रिमोट चलाउने जस्ता घरायसी प्रयोगमा पनि प्रविधीको विकास भइसकेको अवस्थामा प्राविधीक शिक्षा र दैनिक जिवनोपयोगी शिक्षाको रुपमा बीसीएको बजार बढेको हो। यो कार्यक्रमलाई मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत राखिएको छ। ११ र १२ मा जुनसुकै विषय पढेको भएपनि विद्यार्थीले कक्षा १२मा जीपीए २.० वा दोस्रो श्रेणीमा उत्तीर्ण भएको र हरेक विषयमा डी प्लस ग्रेड ल्याएकै हुनुपर्छ। विश्वविद्यलायले लिने प्रवेश परिक्षामा ४० प्रतिशत अंक ल्याउने परिक्षार्थीले मात्र यो कोर्स पढ्न पाउँछन्। बीसीएले एप्लिकेसन बनाउन र आईटीबारे अनुसन्धान गर्न सिकाउँछ।
यो कोर्स पुरा गर्न चारबर्षमा कम्तीमा ४ देखि ८ लाख रुपैयाँसम्म शूल्क लाग्छ। कलेज अनुसार शूल्क पनि फरक फरक छन्। क्याम्पसले दिने सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरिएको हुन्छ।
यो आईटीसम्बन्धी कोर्स भएकाले कम्तीमा तीन महिना कुनै पनि आईटी कम्पनीमा इन्टर्नसिप गर्नुपर्ने समृद्दि कलेजका बीसीए कार्यक्रम निर्देशक जिवन ढुंगेल बताउँछन्। उनी भन्छन् ,‘ प्रोजेक्ट वर्क अनिवार्य बनाउनुपर्छ। बीसीए उत्तीर्ण गरेपछि आईटी उद्योग, एप्लिकेसन डेभलपमेन्ट कम्पनी, मोबाइल एप्लिकेसन, ई-कमर्स, आईटी रिसर्च, वेब डिजाइन, बैंक, टेलिकम, नेटवर्क लगायतका क्षेत्रमा विद्यार्थीले काम गर्ने अवसर प्राप्त गर्छन्। बेरोजगार बस्नु पर्दैन।’
४ वर्षे यो शैक्षिक कार्यक्रम अध्ययन गरेपछि कम्प्युटर ल्याङ्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफ्टवेयरको क्षेत्रमा काम गर्न सकिन्छ। यो कोर्सले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिस्टम तथा एप्लिकेसनहरूमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग गर्ने उनको भनाइ छ।
त्यस्तै एडमार्क एकेडेमीका अध्यक्ष पुरुसोत्तम अधिकारी भन्छन् अब देशको विकास गर्ने नै नयाँ पुस्ताले हो नयाँ पुस्तालाई आईटीको ज्ञान अनिवार्य छ। ‘देशलाई आर्थिक रूपमा समृद्ध बनाउन आईटी तर्फका जनशक्तीको आवश्यकता छ भने अहिले सूचना प्रविधि तर्फका जनशक्तीको माग रोजगारबजारमा पनि बढ्दो छ।’ उनले भने, ‘टेक्नोलोजीलाई प्रयोग नगर्ने हो भने हामी धेरै पछि हुन्छौँ। त्यसैले दक्ष जनशक्ति उत्पादनका लागि बीसीए कोर्स महत्वपूर्ण छ।’
यो कोर्स अध्ययन पश्चात उच्च शिक्षाका लागि मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसीए), एमएससी आईटीलगायतका कोर्स अध्ययन गर्ने बाटो खुल्छ। त्रिविले आफ्ना ६ आंगिक क्याम्पसबाट सुरु गरेको चार वर्षको बीसीए कार्यक्रम अहिले देशभर हाल १ सय २४ वटा कलेजले सञ्चालन गरेका छन्। यो कोर्स उत्तीर्ण गरेपछि विद्यार्थीले सूचनाप्रविधि तर्फका जनशक्ति आवश्यक पर्ने जुनसुकै संस्थामा पनि रोजगारीको अवसर प्राप्त गर्छन्।
यो कोर्स अध्ययन पश्चात कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसलिस्ट, आईटी अफिसर, नेटवर्क एन्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर आदि क्षेत्रमा आफनो भविष्य बनाउन सक्छन्। आफै स्वरोजगार भएर विश्वभर जुनसुकै देशको काम पनि नेपालमै बसेर गर्न सक्ने यो पेसा विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यतिमात्रै होइन अध्ययन पश्चात विद्यार्थीले इथिकल ह्याकर, वेब डेभलपर, ग्राफिक डिजाइनर, सोसल मिडिया ह्यान्डलर, वेबसाइट डेभलपर, एप्लिकेसन डेभलपर, रिसर्चरलगायतका रुपमा सरकारी, गैरसरकारी तथा आईटी कम्पनीहरुमा काम गर्न सक्छन्।
यस तर्फका जानकारहरूका अनुसार सफ्टवेयर इन्जिनियरिङ, डेभलपमेन्ट तथा रिसर्चको क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि बीसीए एक उत्तम विकल्प हो। सिमित सिट भएपनि पर्याप्त जानकारी अभावमा अझै पनि सबै कलेजले सिटसंख्या पुरा गरेर अध्यापन गराउन नसकेको कलेजसञ्चालकहरू बताउँछन्। अध्यापन गराउने दक्षजनशक्ती अभावमा पनि सबै कलेजले यो कार्यक्रम सञ्चालन गर्न सक्ने अवस्था नभएको उनीहरूको बुझाइ छ। अहिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न क्याम्पसले बीसीए कोर्स सञ्चालन गर्दै आएका छन्।
रोजगारीको क्षेत्र
सरकारी र गैरसरकारी आईटी उद्योग, एप्लिकेसन डेभलपमेन्ट सेन्टर , मोबाइल एप्लिकेसन, ई–कमर्स, आईटी रिसर्च, वेब डिजाइन, बैंक, टेलिकम, नेटवर्किङ लगायतका क्षेत्रमा रोजगारीका अवसर छन्।
अध्यापन हुने विषय
कम्प्युटर एप्लिकेसन, म्याथमेटिक्स, वेब टेक्नोलोजी,कम्प्युटर नेटवर्किङ ,ग्राफिक्स एन्ड एनिमेसन, साइबर कानून, सी प्रोग्रामीङ, मोबाइल प्रोग्रामिङ