काठमाडाैँ - बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसंख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ। नगरपालिकाले विद्यार्थी संख्या नपुगेका विद्यालयलाई अनुदान रकम बन्द गर्ने निर्णय गरेको छ। यद्यपि कम्तीमा एक लाख मानिस बसाल्ने योजना अनुसार सरकारले पाटनमा नयाँ सहर आयोजना अघि बढाएको छ।
नगरले तोकेको विद्यार्थी मापदण्ड अनुसार प्रारम्भिक बालविकासमा न्यूनतम २५ जना, कक्षा १ देखि ८ सम्म ११० जना र कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा न्यूनतम कक्षा १ देखि १२ सम्म २१० जना विद्यार्थी नभए अनुदान रकम बन्द गर्ने निर्णय गरेको हो।
पाटनका कुल १० वटा वडामा रहेका ६४ विद्यालयमध्ये ४८ विद्यालयमा नगरले तय गरेको मापदण्ड अनुसार विद्यार्थी संख्या पुग्न सकेको छैन। सङ्घीय शिक्षाको मापदण्डबाट विद्यार्थी संख्या घटाएर मापदण्ड तयार गर्दा पनि ४८ वटा विद्यालयमा विद्यार्थी संख्या अपुग भएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए।
नगरप्रमुख रावलले भने, 'विद्यालयमा विद्यार्थी संख्या नभए पनि ११४ जना नगर शिक्षक पाल्नु पर्दा वार्षिक चार करोड रुपियाँभन्दा बढी रकम खर्च भइरहेको छ। नगरको आन्तरिक स्रोत ५० लाखभन्दा बढी छैन। सङ्घीय सरकारले दिने अनुदानको रकम तलबमा मात्र खर्च गर्नुपर्दा महालेखाले पनि बेरुजु ठहर गर्दै आएको छ।'
विकास बजेटबाट नगर शिक्षक पाल्नु पर्ने अवस्था आएपछि यही असोजदेखि लागु हुने गरी विद्यार्थी संख्या नपुगेका विद्यालयमा अनुदान नदिने निर्णय भएको नगरप्रमुख रावलले बताए। नगरपालिकाबाट बसाइँ सर्नेको संख्या बढेपछि विद्यालयमा विद्यार्थी कम भएको रावलले बताए।
पाटन नगरपालिका-१०, सल्लोवासा स्थित सरस्वती मावि वरिपरिकै बस्ती बसाइँ सरेर तराईलगायतका बाहिरी जिल्ला गएपछि गाउँ सुनसान बनेको छ। सरकारले यहाँ सडक, विद्यालय, बिजुली र सिँचाइको व्यवस्था गरे पनि गाउँमा रोजगारी नहुँदा बसाइँ सर्ने क्रम बढेको छ।
पाटन नगरपालिका मात्रै होइन, बसाइँसराइका कारण जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिकामा पनि प्रत्येक वर्ष पाँच सय विद्यार्थी संख्या घट्दै गइरहेको शिक्षा शाखा प्रमुख हरिप्रकाश भट्टले बताए। दशरथ चन्द नगरपालिकामा रहेका ११ वटा वडामा कुल ५२ वटा विद्यालय छन्। विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्ने नगरको निर्णय काम अघि बढेको उनले जानकारी दिए। दशरथ चन्दमा ८२ जना नगर शिक्षक रहेका छन्। भूगोल र विद्यार्थी संख्या हेरेर विद्यालय मर्ज गर्ने तयारी भइरहेको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए।