काठमाडाैँ - साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले दुर्गममा बसेर पनि १० वटा साहित्यिक कृति प्रकाशन गरेका छन्। पछिल्लो कृतिका रूपमा उनले ‘दोपानी’ लघुकथा सङ्ग्रह बजारमा ल्याएका हुन्।
‘दोपानी’ लघुकथा सङ्ग्रहमा विकट नेपालको सामाजिक परिवेश झल्कने ५४ वटा लघुकथा रहेका छन्। मेलौली नगरपालिका- ७, बैतडी निवासी साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले आफ्नै लगानीमा पहिलो कृतिका रूपमा ‘आँखासामु’ गजल संग्रह २०७ प्रकाशित गरेर साहित्यिक यात्रा सुरु गरेका थिए।
गजल, मुक्तक, कविता विधामा कल चलाउँदै आएका सोराडीले पछिल्लो समय लघुकथा विधामा कलम चलाउँदै आएका छन्। यस अघि उनले गज सङ्ग्रहका रूपमा आँखासामु, पर्दापछाडि, डुब्याकी जुन, आमनेसामने, लकडाउन, रूपान्तरण मुक्तक सङ्ग्रह, बेवारिसे लौरो कविता सङ्ग्रह जस्ता कृति लेखिसकेका छन्।
‘दोपानी’ शीर्षकको लघुकथाबाट कृतिको नामकरण गरिएको साहित्यकार सोराडीले बताए। पानी बाराबार हुने चलनलाई सुदूरपश्चिममा दोपानी भन्ने गरिन्छ। साहित्यकार दयालले दोपानी लघुकथामा दाजुभाइबिचको मनमुटाबले पानी बाराबार हुने गरेको, महिनावारी हुँदा छाउपडी प्रथाका कारण पानी बार्ने, जातीय विभेदका कारण पानी बार्नेजस्ता सामाजिक कुप्रथाका विषय समेटिएकाे बताए।
नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले प्रकाशन गरेको कृतिको भूमिका साहित्यकार डा. विदुर चालिसेले लेखेका छन्। कृति प्रकाशन गर्न पनि बैतडीबाट चितवन जानु परेको साहित्यकार सोराडीले पीडा बिसाए। उनले, सुदूरपश्चिमका कुनै पनि स्थानीय तहको सरकारले कृति प्रकाशनका लागि साहित्यमा खासै चासो नदिएकाे गुनासो गरे।