काठमाडौँ - सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन नदीमा पूजाआजा गरिँदैछ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व कार्तिक २० गते मंगलबारदेखि सुरु भएको हो।व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन्। आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।
सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ। मंगलबारदेखि नै छठपर्वको अनुष्ठान सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन हुनेछ। जनकपुरको गंगा सागरलाई सिँगारिएको छ। जनकपुरको गंगा सागर पोखरीमा ठूलो संख्यामा छठ मनाइन्छ। त्यहाँ घाटलाई सजाउने काम तीव्र पारिएको छ। गंगा सागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार घाटलाई आकर्षक र व्यवस्थित बनाइएको छ। ‘गंगासागर पोखरीको सजावट पूरा भएको छ। हामी व्रतालुको प्रतीक्षामा छौं,’ गुप्ताले भने,‘अरु वर्षभन्दा यसपालि सजावट आकर्षक छ।’
काठमाडौँ उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ। छठको अवसरमा काठमाडाैँका ८ स्थानमा छठघाट निर्माण गरिएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो।
जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन्।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन्। पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको पाइन्छ।
छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ। केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन छ। यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसाद स्वरुप घर लैजाने चलन छ।
छठ परम्पराको थालनी
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्यकिरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकारहरू समेत बताउँछन्।
छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।