काठमाडौँ - छठको मुख्य दिन आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो।
व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन्। आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।
काठमाडौँ उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ। छठको अवसरमा काठमाडौँका आठ स्थानमा छठघाट निर्माण गरिएको छ।
काठमाडौँ महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ। यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ।
जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन्।
यस्तै ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको छ। कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन्। पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ।