काठमाडाैँ- अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी बनेका छन्। अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो पटक विजयी भएका हुन्। ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भए।
अमेरिकी राष्ट्रपतिमा विजयी हुनको लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ। ट्रम्पले २७७ इलेक्टोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो।डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार कमला ह्यारिसले २२४ इलेक्टोरल भोट प्राप्त गरेकी छन्। ह्यारिस वर्तमान उपराष्ट्रपति पनि हुन्।
ट्रम्प यसअघि पनि अमेरिकाको राष्ट्रपति भइसकेका व्यक्ति हुन्। उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति रहेका थिए। त्यति बेला उनले डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए। ट्रम्पले दोस्रो कार्यकालको लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीको तर्फबाट उमेदवार बनेका थिए। उनी त्यतिबेला डेमोक्रेटिक पार्टीका उमेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ। ट्रम्पले यसपटकको चुनावमा निर्णायक ठानिएका सातवटै ‘स्विङ स्टेट्स’हरू पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा क्लिन स्वीप गर्ने देखिएको छ।
अमेरिकाका ५० राज्यमध्ये धेरै जसो राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन्। डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ। दुईमध्ये जुनसुकै उम्मेदवार विजयी हुनसक्ने राज्यलाई ‘स्विङ स्टेट्स’ भनिन्छ।