काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो तीन महिनामा ५६ देशमा अध्ययन अनुमति प्रदान गरेको छ। विदेश अध्ययन गर्न २७ हजार ७२७ जना विद्यार्थीले ५६ देशमा अध्ययनका लागि मन्त्रालयबाट अध्ययन अनुमति लिएका हन्। उच्च शिक्षा अध्ययनका लागि गएको साउन महिनामा विदेशिएका विद्यार्थीले मात्र १४ अर्ब ९२ करोड रुपैयाँ लगेका छन्। अघिल्लो वर्षको सोही अवधिमा १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको थियो। त्यसपछिका २ महिनाको तथ्यांक भने सार्वजनिक भइसकेको छैन।
नेपालमा कक्षा १२ सम्मको अध्ययनपछि विदेश गएर पढ्ने चाहना धेरैको देखिएको छ। राजनीतिक अस्थिरता, रोजगारीका अवसरको कमी र नेपालमा अध्ययन गरेका आधारमा विश्वको जनशक्तिसँग प्रतिस्पर्धा गर्न नसकिने बुझाइ विद्यार्थीको छ। विदेश गएपछि पढाइसँगै रोजगारीका अवसर पनि पाइने भएकै कारण धेरैजसो विद्यार्थीले वैदेशिक अध्ययनलाई रोज्ने गरेका हुन्।
नेपाली विद्यार्थी विश्वका १ सय १२ वटा देशमा उच्चशिक्षा अध्ययनका लागि पुग्ने गरेका छन्। गत वर्ष १ लाख १७ हजार विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि विदेशिएका थिए। ती विद्यार्थीबाट १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको थियो। त्यो भन्दा अघिल्लो वर्ष १ लाख १० हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए। त्यसबेला १ खर्ब ४२ करोड रुपैयाा बाहिरिएको थियो। अर्थात् हरेक वर्ष यसरी बाहिरिने रकम बढ्दो अनुपातमा छ। गतवर्ष ६६ वटा देशमा अध्ययन गर्न विद्यार्थीले अनुमति लिएका थिए। साउन देखि असोजसम्म विदेश अध्ययन अनुमति लिनेमा सबैभन्दा बढी जापान जाने छन्।
मन्त्रालयका अनुसार जापानमा नौ हजार ६३८ जनाले अध्ययन अनुमति लिएका छन्। गत आर्थिक वर्षमा जापानमा भाषा सिक्न ३४ हजार सात सय ३१ विद्यार्थीले मन्त्रालयबाट अनुमति लिएका थिए। पछिल्लो तीन महिनामा अध्ययन अनुमति लिने ठूलो संख्या जापान पछि बेलायत रहेको छ। गत वर्ष जम्मा १३ हजार तीन सय ३९ जनाले मात्रै एनओसी लिएकोमा यसपाली तीन महिनामै बेलायत अध्ययनको लागि पाँच हजार चार सय ५३ जनाले एनओसी लिएका हुन्। मन्त्रालयका अनुसार बेलायत अध्ययन गर्न गत वर्षको तुलनामा बढी छन्।
विद्यार्थीको रुचीको तेस्रो मुलुकमा अमेरिका देखिएको छ। पछिल्लो तीन महिनामा अमेरिकामा अध्ययन अनुमति लिने तीन हजार ६४ छन्। चौथोमा अष्ट्रेलिया छ। पछिल्लो तीन महिनामा अष्ट्रेलिया अध्ययनको अनुमति लिने दुई हजार दुई सय ६२ छन्। यस अघि विद्यार्थीको चाप रहेको क्यानडामा अध्ययन गर्न एनओसी लिने तीन महिनामा नौ सय ११ जना मात्रै छन्। छिमेकी मुलुक भारतको लागि एक हजार चार सय ४७ र चीनमा अध्ययन गर्न तीन सय ३८ जनाले अनुमति लिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो तीन वर्षमा अध्ययन अनुमति लिएका मध्ये सबैभन्दा बढी जापानमा जापनिज भाषा अध्ययनको लागि अनुमति लिएकाहरु छन्। मन्त्रालयका अनुसार जापानिज भाषा अध्ययन गर्न अनुमति लिने सबैभन्दा बढी ९ हजार ९४ छन्। अघिल्लो आर्थिक वर्षमा १ लाख १२ हजार पाँच सय ९३ विद्यार्थीले एनओसी लिएकोमा जापानिज भाषा सिक्न मात्रै ३३ हजार छ सय ९७ विद्यार्थी छन् ।
उच्च शिक्षा अध्ययन गर्न संकायगत रुपमा गत आर्थिक वर्ष जस्तै पछिल्लो तीन महिनामा पनि व्यवस्थापन अध्ययन गर्न जाने विद्यार्थीको संख्या नै बढी छ। अघिल्लो आर्थिक वर्षमा २८ हजार आठ सय जना व्यवस्थापन अध्ययन गर्न गएकोमा यसपाली तीन महिनामा छ हजार आठ सय २९ जनाले अध्ययन अनुमति लिइसकेका छन्। मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा आइटी पढ्न एक हजार ५५, स्वास्थ्य तर्फ एक हजार एक सय ४२, इञ्जिनियरिङ अध्ययन गर्न एक हजार एक सय ३९ जनाले अनुमतिपत्र लिएका छन्।