मकवानपुर - वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत रहेको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत रहेका वृन्दावन वनस्पति उद्यान, हेटौँडा र पर्वतीय वनस्पति उद्यान, दामन शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै गएको छ।
चालु आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक अवधिको तथ्याङ्क अनुसार उद्यानहरूमा भ्रमण एवम् अवलोकनकर्ताको सङ्ख्यामा बढोत्तरी भएको हो। वर्षाको समय भएको कारण अवलोकनकर्ताहरूको सङ्ख्या तुलनात्मकरूपमा केही कमी भएतापनि मनसुन बाहिरिएसँगै उद्यानहरूमा अवलोकनकर्ताहरूको सङ्ख्या बढ्दै गएको केन्द्रका कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए।
विशेषगरी विभिन्न जिल्लाबाट साइन्स, फार्मेसी, फरेस्ट्री लगायतका विषय पढ्ने विद्यार्थीहरू र मनोरञ्जनका लागि आउनेको उद्यान आकर्षणको केन्द्र बन्दै गएको हो। तीन महिनाको अवधिमा आन्तरिक आगन्तुक दुई हजार ५६३ जनाले उद्यानको अवलोकन भ्रमण गरेका छन् भने एक हजार ३६२ जना सेवाग्राही उद्यानबाट लाभान्वित भएका छन्। शैक्षिक र मनोरञ्जन केन्द्रको रूपमा विकसित हुँदै गएको उद्यानमा देशभरका क्याम्पस तथा विद्यालयका विद्यार्थीहरूले वनस्पतिका प्रजाति, महत्त्व, विकास लगायतका विषयमा अवलोकन भ्रमण गरेका हुन्।
वृन्दावन वनस्पति उद्यान, हेटौँडा र पर्वतीय वनस्पति उद्यान, दामनमा टिकेटिङ व्यवस्थापनबाट साउन, भदौ र असोजमा ९२ हजार ८९० राजस्व सङ्कलन भएको छ। पर्वतीय वनस्पति उद्यान, दामनमा ६ हजार १८५ र वृन्दावन वनस्पति उद्यान, हेटौँडामा ८६ हजार ७०५ रुपैयाँ राजस्व सङ्कलन भएको हो। वन नियमावली २०७९ को अनुसूची २ बमोजिम शुल्क तोकिएको छ। शैक्षिक अध्ययन र भ्रमणमा आउने विद्यार्थीबाट प्रतिव्यक्ति दस रुपियाँ शुल्क लिने गरिएको छ।
त्यस्तै १० वर्षमूनिकालाई १५ रुपियाँ र १० वर्षमाथिका २५ रुपियाँ भ्रमण शुल्क निर्धारण गरिएको हो। चलचित्र, म्युजिक भिडियो र विवाहको फोटो सुटका लागि पाँचसय रुपियाँ शुल्क तोकिएको छ। यहाँ विद्यार्थी सहित पारिवारिक भ्रमण, सहकारी, समूह र स्थानीय अवलोकनका लागि आउने गरेका छन्।
उद्यानमा जडीबुटी र वनस्पति, सुगन्धित तेल प्रशोधन लगायतका विषयमा केन्द्रका कार्यालय प्रमुख एवम् वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए । विभिन्न विषयका विद्यार्थी वनस्पति अनुसन्धान केन्द्रमा ज्ञान हासिल गर्न पुग्ने गरेका छन्। वन विज्ञान (फरेस्ट्री), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण, अध्ययन र घुम्नका लागि आउने गरेको उनको भनाइ छ। वनस्पति उद्यान, नमुना संरक्षण, जीवित बिरुवा र विभिन्न नमुना सूचना केन्द्रमार्फत विद्यार्थीलाई जानकारी उपलब्ध गराउने गरेको उनले बताए। यहाँ आउने विद्यार्थीलाई बिरुवा पहिचान गर्न, बिरुवाको वैज्ञानिक नाम र वनस्पतिसम्बन्धी जानकारी प्रदान गर्न सहजीकरण गर्ने गरेको उनको भनाइ छ।
कार्यालय प्रमुख पराजुलीका अनुसार मकवानपुर, काठमाडौँ, चितवन, इलाम, महोत्तरी, जुम्ला, दाङ, पोखरा, नवलपरासी, रुपन्देही, भैरहवा लगायतका स्थानबाट यहाँ आउने गर्छन। लोप हुँदै गएको, मासिएको बिरुवाका साथै यहाँ उनिउँको पनि संरक्षण एवम् अनुसन्धान गरिएकाले यहाँ आउने विद्यार्थी यसबारे जान्न थप उत्सुक हुनेगरेका छन्। पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारणले पनि उद्यानमा अवलोकन, भ्रमण गर्नेको आकर्षण बन्दै गएको छ।