काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कार्तिक ४ गतेदेखि सुरु गरेको फेस्टिभल क्याम्पमा विभिन्न रचनात्मक कार्य गरिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्ति क्याम्पमा सहभागी भएर विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरिरहेका छन्। महानगरपालिकाले दैनिक जसो बालबालिकाको रुचि अनुसारका कलाकार तथा व्यक्तित्वलाई कक्षाकोठामा उपस्थित गराएर प्रेरणात्मक कक्षा सञ्चालन गरिरहेको छ।
उक्त कक्षामा आफूले देख्न चाहेको व्यक्तिलाई आफ्नै कक्षामा भेट्न पाउँदा विद्यार्थीहरु दंग परेको शिक्षकहरु बताउँछन्। भने कक्षामा उपस्थित भएका बालबालिकाहरुले रुचिपूर्वक कक्षामा सहभागिता जनाइ रहेको शिक्षकहरु बताँउछन्।
महानगरले पछिल्लो कक्षामा जनप्रभात माध्यमिक विद्यालयको कक्षा कोठामा ‘बिबिसि मास्टर सेफ विजेता’ सेफ सन्तोष शाहलाई कक्षा कोठामा पुर्याएको थियो कक्षा कोठामा सेफ शाह उपस्थित भएपछि विद्यार्थी दंग परेका थिए।
महानगरपालिकाले दशैँ तिहारका बिचमा हुने बिदाको समय सदुपयोग गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि सञ्चालन गरेको कक्षामा उत्प्रेरणात्मक कक्षा ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न शाह कक्षाकोठामा पुगेका थिए।
उनीसँगै ‘द ग्रेट व्रिटिस वेक अफ’ प्रतियोगिताको २०२४ का विजेता सेफ नारायण श्रेष्ठ पनि थिए। उनीहरु दुवै जनाले शिक्षा, सिप र नतिजा प्राप्त गर्न आफूले गरेका प्रयासका सृङ्खला सुनाउँदै, विद्यार्थीहरुलाई वृत्ति विकासको आधारभूत आयामका बारेमा जानकारी गराएको महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ।अक्षरमा पढिएका व्यक्तिलाई प्रत्यक्ष देखेपछि उनको बारेमा बुझ्न सहज भएको विद्यार्थीले प्रतिक्रिया दिएका थिए।

‘किताब (परीक्षा) मा असफल भएर केही हुँदैन। जीवनमा भने असफल हुनुहुँदैन। मेरो अनुभव यही हो। म पढाइमा उति तेज थिइन। यति भएर पनि मैले खाना बनाउने कलाको विश्व स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्न सकेँ।’ शाहले भने,‘यसो भनेर तपाईँहरुलाई किताब नपढ्नोस् भनेको होइन। असफल भए पनि हुन्छ भनेको होइन। कहिलेकाहीँ सोचेको जस्तो नतिजा नआउन सक्छ। कुनै एउटा विषयले आफूलाई कमजोर छु कि जस्तो अनुभूति गराउन सक्छ। यसबाट निराश हुनुहुँदैन, निरन्तर प्रयासले सफल हुन सकिन्छ, भन्न खोजेको हो। कुनै विषयमा आफूलाई कमजोर महसुस भएको छ भने त्यो कमजोरीलाई महत्त्व नदिनु भन्न खोजेको हो। तपाईँसँग एउटा विषयमा कमजोरी हुन सक्छ। जीवनलाई उच्च स्थानमा पु¥याउने अन्य क्षमता हुन सक्छन्। त्यो सामथ्र्य भएको गुण चिन्नु भन्न खोजेको हो।’
सेफ शाहका बारेमा कक्षा १० को अंग्रेजी विषयको पाठ्यपुस्तकमा रिडिङ् एक्टिभिटिज (पठन क्रियाकलाप) अन्तर्गत ‘यु इन्स्पायर अदर्स वाइ लर्निङ्, नट वाइ टिचिङ्’ शीर्षकमा प्रश्नोत्तर राखिएको छ। यसमा उनको जन्मस्थान सिराहादेखि लण्डनमा आयोजना भएको ‘मास्टर सेफःद प्रफेसनल्स २०२०’ मा प्राप्त उपाधि सम्मको यात्रा र सफलता, नेपाली खानाका परिकारको व्यापारिक सम्भावनाका विषय राखिएका छन्।
त्यस्तै हिजो विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरको कक्षामा पुगेका कन्दरा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले विद्यार्थीलाई उतप्रेरित गर्दै भने, ‘सपना ठूलो देख्नुपर्छ। देखेको सपना पूरा गर्न मिहनेत गर्नुपर्छ। मिहनेतले मात्रै पनि नपुग्न सक्छ। यसबाट प्राप्त हुने प्रतिफलका लागि धैर्यता चाहिन्छ।’
त्यसैगरी उक्त कक्षामा विद्यार्थीसँग साक्षत्कार गर्न रत्नराज्य माध्यमिक विद्यालयको कक्षामा पुगेकी मिस नेवा सकिना महर्जनले फेस्टिभल क्याम्पजस्ता इभेन्ट्सले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्दत गर्ने बताइन्।
शान्ति निकुञ्ज माध्यमिक विद्यालय पुगेकी अभिनेत्री केकी अधिकारीले अरुसग दाँजेर आफूलाई हीनता बोध नगर्न विद्यार्थीहरुलाई सुझाइन्। चलचित्र निर्माता तथा अभिनेत्री अधिकारीले बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरिन्। ‘कालो हुनु,गोरो हुनु, अग्लो हुनु, होचो हुनु, भनेको जस्तो अवस्था नहुनु। यी कुनै पनि अवस्थाले सफल हुनलाई असर गर्दैन। तपाईँ जस्तो हुनुहुन्छ। त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो। सफल हुन धैर्यता र मिहनेत चाहिन्छ। सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ।’
चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरीले कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा, मिस नेपाल २०१८, श्रृङ्खला खतिवडाले पद्मकन्या विद्याश्रम डिल्लीबजारमा, र गायक वाङ्देन शेर्पाले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा गएर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरेका थिए।



‘फेस्टिभल क्याम्प’अन्तर्गत प्रभावशाली व्यक्तित्वसँगको साक्षात्कार कक्षामा महानगरले अभिनेत्री स्वस्तिमा खड्का लगायतका व्यक्तिसँग साक्षात्कार गराएको छ। क्याम्पका कक्षाअन्तर्गत विहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन भइरहेको छन्। यी कक्षा सुरु हुनु अगाडि खेल प्रशिक्षण हुन्छ। ३ बजेपछाडि अन्तरक्रियात्मक, क्रियाकलाप, सहसिकाइ र समूहगत सिकाइमा आधारित छन्। ३ बजेपछि कम्तीमा १ घण्टा इ-लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ्), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेका छन्।
महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिरहेको छ।११ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन्। उक्त कक्षामा २ हजार भन्दा बढी बालबालिका सहभागी भइरहेका छन्।
सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेल भन्छन्, ‘टाढाबाट देखेको व्यक्तिहरुसँग भेट्दा, अन्तरक्रिया गर्दा, उहाँहरुबाटै प्रशिक्षणमा सहभागी हुन पाउँदा उनीहरुले भविष्यको लक्ष्य निर्धारण गर्न फराकिलो बाटो भेटेको महसुस गरेका छौँ। यसलाई जाडो विदाका समयमा पनि निरन्तरता दिनेछौँ।’

