काठमाडाैँ - शिक्षा र मानविकी संकायको डिनमा भाग नमिल्दा अन्तर्वार्ता लिएको एक महिना बितिसक्दा पनि त्रिभुवन विश्वविद्यालयले डिन नियुक्त गर्न सकेको छैन। नेपाली काङ्ग्रेसले आफ्ना नेतालाई डिन बनाउन खोजेपछि सबै प्रक्रिया अवरुद्ध भएको त्रिवि उच्च स्रोतले जानकारी दिएकाे छ।
काङ्ग्रेसले दुवै संकायमा आफ्नो निटक हुनै पर्ने दवाव दिएपछि छनोट प्रक्रियमा शक्ति समूहका उम्मेदवार छनोटमा समेत नपरेपछि छनोट प्रक्रिया झन सकसमा परेको हाे। अन्य संकाय र संस्थानका डिनका लागि भाग बण्डा मिलेको भए पनि यी दुई संकायमा देखिएको विवादका कारण अन्य पदाधिकारी समेत नियुक्तिकालागि सिफारिस हुन नसकेको त्रिवि उच्च स्रोतले जानकारी दिएकाे छ।
काङ्ग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिविले हाल सावधिक पदका लागि गरेको विज्ञापनहरूमा उपकुलपतिको नियन्त्रण र निर्देशनमा हुने दलीयकरणप्रति संघ कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।
त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ आधारित भएर त्रिविले अहिले एक एक जना अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक, योजना निर्देशनालयको निर्देशक, १६ क्याम्पस प्रमुख र ६ सहपरीक्षा नियन्त्रक गरी कुल ३१ पदपूर्तिका लागि विज्ञापन गरेको थियो। ३२ पदका लागि कुल २७१ जनाको आवेदन परेको शिक्षाध्यक्ष कार्यालयले जानकारी दिएकाे छ। अहिले सम्म डिन नियुक्तिका लागि सिफारिस भएका छैनन्।
समितिले योग्यता र कार्यसम्पादनका आधारमा छनोट गरेर शिक्षाध्यक्षको कार्यालयलाई बुझाइसकेको छ तर, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हालसम्म नियुक्त गर्न सकेको छैन। त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गत बनेको छनोट समितिले गत भदौ १७ गते सूचना जारी गरेर विभिन्न ८ सङ्कायका डीन, ६ जना सहपरीक्षा नियन्त्रक, २ जना निर्देशक, ११ क्याम्पस प्रमुख लगायतका लागि आवेदन माग गरेको थियो।
त्रिविले त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ जारी गरी पदाधिकारी छनोट गर्ने भन्दै खुला प्रस्पिर्धाबाट पदाधिकारी छनोट गर्ने गरी गरिएको विज्ञापन अनुसार अहिलेसम्म छनोट हुन सकेको छैन।
समितिले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ अनुसार अध्ययन संस्थान र संकायका डीनका लागि आवेदन माग गरेको थियो। त्यही विनियमको परिच्छेद ४ को विनियम ७ बमोजिम शिक्षा तथा विकास अनुसन्धान केन्द्र्र (सेरिड)को कार्यकारी निर्देशक र परिच्छेद १० को विनियम १९ बमोजिम योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन माग गरेको थियो।
सहपरीक्षा नियन्त्रकका लागि ३० जनाको अल्पसूची (सर्टलिष्ट) सार्वजनिक भइसकेको छ। रिक्त ६ पदका लागि आवेदन मागिएकोमा ६५ जनाले आवेदन दिएका थिए। आवेदक मध्ये सर्ट लिष्टमा ३० जनाको नाम सार्वजनिक गरिएको छ। सर्ट लिष्टमा परेकाको अन्तर्वार्ता कात्तिक १२ देखि १४ गतेसम्म रजिष्ट्रारको कार्यालयमा सञ्चालन गरिने त्रिविले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका लागि २ सिट र पोखरा, विराटनगर, मधेस, र नेपालगञ्जमा १-१ सिटका लागि आवेदन माग गरिएको थियो। बल्खुका लागि २२ जना, आवेदक मध्ये १० जना सर्टलिष्टमा परेका छन्। विराटनगर क्षेत्रीय कार्यालयका लागि ६ जना, मधेस प्रदेशका लागि ९ जना, नेपालगञ्जका लागि १३ जना, पोखरा क्षेत्रीय कार्यालयका लागि १५ जनाको आवेदन परेको थियो।