काठमाडौँ - उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीले गएको साउनमा मात्रै झन्डै १५ अर्ब रुपैयाँ विदेश लगेका छन्। चालू आर्थिक वर्षको पहिलो महिना १४ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक अध्ययनका नाममा बाहिरिएको हो। अघिल्लो आर्थिक वर्षको पहिलो महिना १० अर्ब रुपैयाँ विदेशिएकोमा यो वर्ष ५० प्रतिशतले वृद्धि भएको देखिएको छ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार गएको साढे २ महिनामा ३३ हजार विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएका छन्। नेपालमा उच्च शिक्षा अध्ययन-अध्यापन गराउने शैक्षिक संस्था हुँदाहुँदै पनि ठूलो संख्यामा विद्यार्थी बाहिरिँदा देशलाई आर्थिक भार मात्र बढेको छैन, नेपालको शैक्षिक प्रणालीमाथि नै प्रश्नसमेत उठेको छ।
शिक्षा मन्त्रालयका अनुसार उच्चशिक्षा अध्ययनका लागि दैनिक ३ सय ५० को हाराहारीमा विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी लिने गरेका छन्। चालु आर्थिक वर्षको साढे २ महिनामै ३३ हजार विद्यार्थीले विभिन्न देशका जानका लागि अध्ययन अनुमतिपत्र लिएका छन्। जसमा अमेरिकाका लागि १३ हजार, जापानका लागि १० हजार र बेलायतका लागि ५ हजारभन्दा बढीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका हुन्।
उच्च शिक्षा अध्ययनका लागि गएको साउन महिनामा विदेशिएका विद्यार्थीले मात्र १४ अर्ब ९२ करोड रुपैयाँ लगेका छन्। अघिल्लो वर्षको सोही अवधिमा १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको थियो। त्यसपछिका २ महिनाको तथ्यांक भने सार्वजनिक भइसकेको छैन।
नेपालमा कक्षा १२ सम्मको अध्ययनपछि विदेश गएर पढ्ने चाहना धेरैको देखिएको छ। राजनीतिक अस्थिरता, रोजगारीका अवसरको कमी र नेपालमा अध्ययन गरेका आधारमा विश्वको जनशक्तिसँग प्रतिस्पर्धा गर्न नसकिने बुझाइ विद्यार्थीको छ। विदेश गएपछि पढाइसँगै रोजगारीका अवसर पनि पाइने भएकै कारण धेरैजसो विद्यार्थीले वैदेशिक अध्ययनलाई रोज्ने गरेका हुन्।
नेपाली विद्यार्थी विश्वका १ सय १२ वटा देशमा उच्चशिक्षा अध्ययनका लागि पुग्ने गरेका छन्। गत वर्ष १ लाख १७ हजार विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि विदेशिएका थिए। ती विद्यार्थीबाट १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको थियो। त्यो भन्दा अघिल्लो वर्ष १ लाख १० हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए। त्यसबेला १ खर्ब ४२ करोड रुपैयाा बाहिरिएको थियो। अर्थात् हरेक वर्ष यसरी बाहिरिने रकम बढ्दो अनुपातमा छ।
नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा मात्र शिक्षाका नामबाट ३ खर्ब ५ अर्ब रुपैयाँ बाहिरिएको छ। उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई रोक्न पढाईसँगै रोजगारीका अवसर सुनिश्चित गर्न आवश्यक रहेको विज्ञको बुझाई छ।
धेरैजसो नेपाली विद्यार्थी व्यवस्थापन, सूचना प्रविधि, भाषा, स्वास्थ्य, इन्जिनियरिङ जस्ता विषय अध्ययनका लागि विदेशिने गरेका छन्। मेधावी विद्यार्थी उच्चशिक्षा अध्ययनका नाममा विदेशिने र उतै बस्ने प्रवृत्ति व्याप्त छ। यसले नेपालको शैक्षिक प्रणालीमाथि मात्र होइन, राज्य सञ्चालकहरु माथिसमेत गम्भीर प्रश्न उठेको छ।