काठमाडौँ– राजधानीको व्यस्त दैनिकी। यही दैनिकी झेलिरहेका अभिभावक। सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिभावकको चाहना। अनि त्यही चाहनालाई दृष्टिगत गर्दै खुलेका छन् सुविधासम्पन्न विद्यालय।
यहाँ यस्तै विद्यालयको चर्चा गरेका छौँ। सहरको घना बस्तीबीच २२ रोपनी क्षेत्रफलभित्र सुविधासम्पन्न अत्याधुनिक भूकम्प प्रतिरोधी संरचनामा बनेको छ, इम्पेरियल वर्ल्ड स्कुल। चक्रपथ नारायणगोपाल चोकबाट बूढानीलकण्ठतर्फ दुई किमि दुरी पार गरेपछि हात्तीगौँडा चोक पुगिन्छ। त्यही चोकबाट देब्रे लागेपछि मूल सडकनजिकै छ इम्प्पेरियल वर्ल्ड स्कुल।
विद्यालयको प्रवेशद्वारबाट नै त्यसको भव्यताको अनुमान लगाउन सकिन्छ। कुनै पाँचतारे होटलमा प्रवेश गरेको महसुस हुन्छ। ठूला सवारीसाधनका लागि त्यहाँ पार्किङ जोन छ।
फूलबारीमा फूल ढकमक्क फुलेका छन्। सहरी कोलाहलबाट मुक्त शान्त वातावरण र सुन्दर ठाउँमा छ विद्यालय। विद्यार्थीलाई प्रशस्त खेल्ने ठाउँ छ। थरीथरीका फूलैफूलले सजिएको बगैँचा अनि त्यसमै रमाइरहेका बालबालिका। विद्यालय प्रवेशसँगै विद्यार्थीमा शैक्षिक वातावरण झल्किले थुप्रै दृश्यले जोकोहीलाई पनि यही विद्यालयमा पढौँपढौँ लाग्न सक्छ।
उपत्यकाभित्रकै नमुना विद्यालयका रूपमा आफ्नो परिचय बनाउँदै गरेको यस स्कुलको अपांगमैत्री, भूकम्प प्रतिरोधी भौतिक संरचनाले नै विद्यालय प्रवेश गर्ने अभिभावक र विद्यार्थीको मन लोभ्याउँछ। अभिभावकको चाहना भए पनि विद्यालयमा ६ सय जना विद्यार्थीका लागि मात्र सिट क्षमता छ। एउटा कक्षामा ३०–३० जनाका दरले दुई सेक्सनमा १ कक्षादेखि १० कक्षासम्म विद्यार्थी भर्ना हुन्छन्।
लामो समय शिक्षा क्षेत्रमा योगदान गरेर शैक्षिक परामर्श व्यवसायमा परिचय स्थापित गरिसकेको लेन्डमार्क एजुकेसनका सञ्चालक कुमार कार्की र जुनिता शाही कार्कीको जोडीले सन् २०१० मा स्थापना गरेको हो, इम्पेरियल वर्ल्ड स्कुल। स्थापनाकालमा राजधानीको लाजिम्पाटमा रहेको विद्यालय बिस्तारै आफ्नो भवन निर्माण गरेर हात्तीगौँडामा सरेको तीन वर्ष भयो।
विद्यालयको व्यवस्थापन पक्ष निर्देशक कुमार कार्कीले हेर्दै आएका छन् भने शैक्षिक पक्ष जुनिताले। विद्यालयका निर्देशक कार्कीले शैक्षिक परामर्श व्यवसायमा लाग्दै गर्दा देशविदेशका विद्यालयमा भ्रमण गर्ने अवसर पाएका रहेछन्। अन्तर्राष्ट्रिय स्तरको विद्यालयको आवश्यकता महसुस गरेर नेपालमा यस्तो विद्यालयको परिकल्पना गरिएको उनको भनाइ छ।
उनले भने, ‘०७२ सालको भूकम्पपछि विद्यालयका भौतिक संरचनालाई ध्यान दिँदै नयाँ प्रविधिको प्रयोग गरेर भूकम्प प्रतिरोधी विद्यालयको संरचना निर्माण गरेका हौँ।’ राष्ट्रिय पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय पाठ्यक्रमसँग सम्मिश्रण गरेर अध्यापन गराइरहेको उनले बताए। कार्कीले भने, ‘काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनबाट स्नातकोत्तर र दर्शनाचार्य गरेका अनुभवी, दक्ष शिक्षकहरू हुनुहुन्छ।’
विभिन्न मुलुकमा गएर केही वर्ष बसेर नेपाल फर्किएका अभिभावकले विद्यालयको वातावरण अन्तर्राष्ट्रिय स्तरको भएको प्रतिक्रिया दिएको उनले बताए। सुविधा सम्पन्न विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने चाहना भएका अभिभावकका लागि यो एउटा उत्तम विकल्प पनि हुन सक्छ। यहाँको पठनशैली, शिक्षण सिकाइको तरिका, कक्षा कोठा प्रवेश गर्दा नै विद्यार्थीले पढ्ने विषयसँग सम्बन्धित चित्रले एउटा शिक्षण सिकाइको नयाँ शैली देखाउँछ। यही चित्रबाट नै स्पष्ट हुन्छ विद्यालयको भौतिक, शैक्षिक वातावरण र विद्यार्थीले पाउने शैक्षिक गुणस्तर।
विद्यालयका तीन वटा ब्लक छन्। ब्लक ए विद्यालयको प्रशासनिक भवन हो। विद्यालय प्रवेशद्वार पनि यहीँ छ। यो भवनभित्र क पुस्तकालय र चमेना गृह छ। विद्यार्थी खाली समयमा यहीँ बसेर पढ्छन् अनि खाना खाजा पनि खान्छन्। भान्छा बाहिरबाटै प्रस्ट देखिन्छ।
ब्लक बीमा प्रयोगात्मक कक्षा सञ्चालन हुने विभिन्न विषयका छुट्टाछुट्टै ल्याबदेखि कार्यक्रम सञ्चालन गर्ने अडिटोरियम हलसम्म छन्।
ब्लक सीका कक्षाकोठा विषयगत ढंगबाट सुसज्जित छन्। विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई प्रयोगात्मक कक्षा र बाह्य क्रियाकलापसँग जोडिने गरी नृत्य, संगीत र खेलकुद व्यवस्थित गरिएको छ। विद्यार्थीले चाहेको खेलमा सहभागी हुन पाउँछन्। खाली ठाउँमा दुबो र वरिपरि बोटबिरुवा रोपिएका छन्।
पाठ्यक्रम र पठनशैलीमा नयाँ अभ्यास
विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउन विद्यालयले विश्वका विभिन्न मुलुकमा सञ्चालन भइरहेको इन्टरनेसनल प्राइमरी करिकुलम (आइपिसी) पाठ्यक्रम १ देखि ६ कक्षासम्म लागू गरेको छ। यसमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका रमाउँदै पढ्ने गरेका छन्।
विद्यालयले ११ देखि १४ बर्ष उमेर समूहका बालबालिकाका लागि इन्टरनेसनल मिडल इएर करिकुलम (आइएमवाइसी) लाई लागू गरेर प्रयोगात्मक ज्ञानसहितको कक्षा सञ्चालन गर्दै आएको छ। नेपाल सरकारले लागू गरेको पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम जोडेर अध्यापन गराउने भएकाले पनि यो देशकै नमुना विद्यालय भएको बुझाइ विद्यालय व्यवस्थापनको छ।
यसरी पाठ्यक्रम र पठनशैलीलाई नै अभिभावकले राम्रो प्रतिक्रिया दिएकाले पनि यस्तो अभ्यास गरिएको निर्देशक कार्कीको भनाइ छ। स्कुलले विद्यार्थीलाई पढ्दै सिक्ने वातावरण बनाउन सम्पूर्ण आवश्यक पूर्वाधारको विकास गरिसकेको छ।
विद्यार्थीलाई नै समस्या पहिल्याउन दिने र समाधानको उपाय पनि खोजी गर्न लगाउँदा विद्यार्थी खोज अनुसन्धानतर्फ उत्प्रेरित हुनुका साथै आत्मविश्वास पनि बढ्दै जाने विश्वास स्कुलको छ। नयाँ शैलीबाट भएको अध्यापन र यसबाट सिकेका सीपलाई पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। प्रयोगात्मक कक्षालाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लाने र भविष्यको ढोका विद्यार्थीले आफैँ खोल्न सक्ने गरी सक्षम बनाउने योजना विद्यालयको छ।