काठमाडौँ - सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौँ स्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई कार्तिक २ गते शुक्रबार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो। त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। लामिछानेलाई शुक्रबार स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी गरिएको छ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो। पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिएका थिए। सहकारीको रकम ग्यालेक्सी टीभीमा लगेर अपचलन गरेको खुलेपछि उनीहरुले लामिछाने सहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले बताएका थिए।
संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए।