काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै कार्तिक ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्ने भएको छ। कक्षा १० का विद्यार्थीहरुलाई अध्ययनप्रति रुचि जगाउने उद्देश्यले सो क्याम्प सञ्चालन गर्न लागिएको हो।
नतिजा सुधारका लागि दशैँ तिहारका बिचको समयमा १६ ओटा विद्यालयमा क्याम्प सञ्चालन गर्ने भएको छ। महानगरले ११ वटा स्रोत केन्द्र र एसईई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालयमा क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएकाे छ।
क्याम्पमा २ हजार २७७ जना विद्यार्थी सहभागी हुने महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए। उनका अनुसार एउटा केन्द्रमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ। एउटा कक्षामा २५-३५ जना विद्यार्थी हुनुपर्ने छ। उक्त क्याम्पका लागि महानगरले सहभागी हुन अनिवार्य भने गरेको छैन।
विभागका अनुसार क्याम्पमा सहभागी हुने विद्यार्थीले स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ-लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन्।
महानगरले गत वर्ष एसईईको ग्रेड सुधार गर्न अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरेको थियो। उक्त कक्षा पछि २०८० सालको एसईई परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले २.८, ३.२ जीपीए ल्याएको झाले जानकारी दिए। उनका अनुसार यो समूहको जीपीए ल्याउनेको संख्या गत वर्षभन्दा बढी रहेको छ।
गत वर्षको यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाले गौरव योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न दशैँ र तिहारको बिच र जाडो बिदामा एसईई सहायता हुने गरी क्याम्प सञ्चालन गर्न लागेको हो।