कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका -८, पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय जाने गरेसँगै बीचमै विद्यालय छाड्ने विद्यार्थीको संख्या शून्यमा झरेकाे छ। विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यालय छाड्ने विद्यार्थीकाे संख्यामा कमी आएकाे हाे।
आर्थिक रूपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन्। दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजाँदा पढाइ प्रभावित हुँदै आएको थियो। ‘विगतमा कक्षा दोहोर्याउने, बीचमै विद्यालय छाड्ने र कक्षामा नियमित विद्यार्थी नआउने समस्या थियो’ विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका स्रोत शिक्षक डबलबहादुर ठगुन्नाले भने, ‘दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन्।’
उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी रु १५ का दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको स्रोत शिक्षक ठगुन्नाले जानकारी दिए। ‘कुन वार कस्तो खाने कुरा खुवाउने भन्ने वारे ‘मेनु’नै बनाएका छौं’ उनले भने, ‘त्यसै अनुरूप विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर वितरण गरिन्छ।’
विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतवार खिर, सोमवार दालभात, मङ्गलवार फ्राइ गरिएको चना, बुधवार अण्डा राखिएको राइस फ्राई, विहीवार खिचडी र शुक्रवार फलफूल खुवाइने गरिन्छ। खाजा खुवाउने र भान्सा सरसफाइ गर्न एक जना भान्सेको पनि व्यवस्था गरिएको छ।
विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको शिक्षक अमरबहादुर महराले बताए । खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिदसँगै भान्सेको मासिक तलब रु सात हजार व्यहोरिंदै आएको छ।
योसँगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन्। गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यान्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर(फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ।
दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन/तीन महिनामा बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरूलाई कार्यान्वयनमा लैजाने गरिन्छ। दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए।
‘खाजा खुवाउँदा विद्यार्थीलाई बस्नका लागि असहज हुँदै आएकाले आगामी वर्ष आवश्यक बेन्चहरू निर्माण गर्ने योजना बनाएका छौं’ उनले भने, ‘बेन्चका लागि आवश्यक पर्ने काठका लागि सामुदायिक वन र निर्माण गर्दा लाग्ने खर्चका लागि वडा कार्यालयलाई गुहार्छौं।’
२०७७ सालमा तर्जुमा गरिएको दिवा खाजा कार्यक्रमको प्रति विद्यार्थी रु १५ का दरले उपलब्ध गराउने रकम हालको महंगीमा नपुग्ने भएकाले यसमा बढोत्तरी गर्नुपर्ने विद्यालयका शिक्षकहरूले जनाएका छन्।
विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै अङ्ग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ। नगर क्षेत्रका सामुदयिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए। ‘विद्यालर्थीलाई पोषणयुक्त खाजाको व्यवस्थापनको कार्य गर्नु चुनौतिपूर्ण रहेपनि विद्यालयले गरेर देखाएको छ’ उहाँले भने, ‘व्यवस्थापन गरे जस्तो सुकै चुनौती भएपनि कार्य गर्न सकिदो रहेछ भन्ने उदाहरण यस विद्यालयको दिन सकिन्छ।’