काठमाडाैँ- प्रविधिले सञ्चार र सम्पर्कमा जोड्दा देश र विदेशका विभिन्न कुनामा पुगेकाहरूलाई एकै ठाउँमा ल्याउँदैछ। अध्ययन सिलसिला र अवसरको खोजीमा विदेश रहेकाहरू र घरपरिवारका मान्छेबीचको नियमित अडियो/भिडियो संवाद दैनिकी नै बनिसकेको छ। विदेशमा रहेका लाखौं नेपालीहरू आजका दिन आफन्तसँग जोडिन फेसबुक, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्। यसले दुवैतर्फ एकअर्काको सूचना मात्रै आदानप्रदान भइरहेको छैन, परिवारलाई आत्मीय रूपमा जोड्न सघाइरहेको छ।
सूचनाप्रविधिको प्रयोगले अहिले घर छाडेर आप्रवासन (स्वदेश–विदेश) मा रहेकाहरूलाई टाढाको बन्न दिने अवस्था नै छैन। प्रविधि मार्फत हुने यस्ता सम्पर्क र संवादहरूलाई सस्तो प्रविधिले झन् प्रोत्साहन गरेको छ।
यो सुविधा प्रयोग गर्दा हामी विगत बिर्सन पुग्छौं। कुनैबेला शहरमा बसेकाले आकाशवाणी प्रविधि मार्फत घरमा सःशुल्क सन्देश पठाउन सक्थे। शुल्क कम लागोस् भनेर विभिन्न सन्देशहरू संक्षिप्त रूपमा पठाइन्थ्यो। आकाशवाणीपछि ल्यान्डलाइन फोन प्रविधिले एक समय घर बाहिर बाँचिरहेकाहरूलाई ठूलो सहयोग पुर्यायाे।
कुनै समय यस्तो पनि थियो कि काठमाडौंमा बसेकाहरूले रेडियो नेपालको ‘फोन इन’ कार्यक्रम मार्फत घरपरिवारलाई सन्देश रेकर्ड गराउँथे। जुन तोकिएका बारमा रेडियोले बजाएर घरसम्म पु¥याउन सघाउँथ्यो।
तर, अहिले युग बदलियो। वायरलेस फोन, सीडीएमए हुँदै मोबाइल र इन्टरनेटसम्म आइपुग्दा धेरै कुरा बदलिए। अहिले फोन र इन्टरनेट सेवा सर्वसुलभ मात्रै हैन, सबैको अनिवार्य आधारभूत आवश्यकता बनेको छ। व्यक्तिगत, पारिवारिक तथा समाजका सूचनाहरू लिन मान्छेहरू अडियो र भिडियो कलसँगै च्याटिङसम्मका विकल्पहरूमा निर्भर छन्।
यसले नेपालमा अद्यावधिक रहेको सूचनाप्रविधिका माध्यमहरूको विस्तारमा पनि सघाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले टेलिफोन प्रयोगकर्ता (वितरित र प्रचलित सिमकार्ड) को संख्या ३ करोड ६२ लाख २६ हजार नाघेको छ।
यस्तै इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ४० लाख २८ हजारभन्दा बढी छ। तार मार्फतको इन्टरनेट जडान गर्ने परिवारको संख्या नै २८ लाख ४ हजार माथि छ। मोबाइल ब्रोडब्यान्डका प्रयोगकर्ता ३ करोड ११ लाख छन् । फोरजीकै प्रयोगकर्ता २ करोड २२ लाख नाघेका छन्।
मोबाइल र इन्टरनेटको प्रयोग गर्नेहरूको संख्याले नै सूचना प्रविधिको प्रयोगको अवस्थालाई जनाउँछ। अहिले सशुल्क फोनको सट्टा इन्टरनेट प्रयोगकर्ताले ह्वाट्सएप, म्यासेन्जर, भाइबर, इमो जस्ता ओभर दि टप (ओटीटी) एप निःशुल्क प्रयोग गरिरहेका छन्। नेपालमा बढ्दै गएको इन्टरनेट प्रयोगकर्ताको संख्याका कारण ओटीटीमा आधारित सेवाहरूको संख्या बढ्दै गएको छ।
शहरी र शहरोन्मुख बस्तीहरूमा तार सहितको इन्टरनेट पुगेकाले अहिले धेरैलाई विगतमा जस्तो सशुल्क भ्वाइस कल नै गर्नुपर्ने बाध्यता छैन। यस्ता इन्टरनेट नपुगेका गाउँघरमा मोबाइल कम्पनीका डेटा प्याकेज किनेर भए पनि ओटीटीबाटै कल गर्ने प्रचलन बढ्दो छ।