काठमाडाैँ- जापान नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हो। विद्यार्थी अध्ययनसँगै अवसरको खोजिमा जापान गएका छन्। जापान बसोबासका हिसाबले सुरक्षित मुलुक हुनुकासाथै अध्ययन पश्चात रोजगारीको अवसर पनि छ। विद्यार्थीले भाषा पढ्दै गर्दा पनि त्यहाँको नीति नियम भित्र रहेर काम गर्न पाउछन्। भाषा अध्ययन पश्चात विद्यार्थीलाई अन्य अवसरको ढोका खुल्छ। विशेष गरेर मध्यमवर्गिय परिवारका विद्यार्थीको रोजाइमा जापान पर्ने गरेको छ।
गत वर्ष जापानमा अध्ययन गर्न जान नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ३४ हजार ७ सय ३१ जना विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। हाल जापानमा रहेका विदेशी विद्यार्थीहरूमा नेपाली तेस्रो नम्बरमा रहेका छन्। उनीहरू १ लाख ७० हजारको हराहारीमा जापानमा बसोवास गरिरहेको जापानीज राजदुताबासको तथ्याङ्क छ।
जापान जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै चुनौतीहरू पनि थपिएका छन्।
सामान्यतया जापान पढाइ र अवसर दुवै राम्रो भएको देश हो। नेपाली मध्यम वर्गका विद्यार्थी पनि जापानमा गएर आफ्नो भविष्य निर्माण गर्न सक्छन् भन्ने पुष्टि भइसकेको छ। यसका थुप्रै उदाहरण पनि छन्। जापानमा अध्ययन पश्चात विश्वका प्रतिस्ठित कम्पनिमा रोजगारीको अवसर समेत पाएका छन्। पछिल्लो समय जापानको जनसंख्या घट्दै गएकाले पनि विदेशी विद्यार्थीले अध्ययन पश्चात रोजगारीको अवसर प्राप्त गर्न सहज भएको छ।
विद्यार्थीले जापानमा अध्ययनकै क्रममा हप्ताको २८ घण्टा काम गर्न पाउछन्। स्कुल बिदाको समयमा पनि काम पाउने भएकाले शिक्षण शुल्क तिर्न विद्यार्थीलाई त्यति समस्या हुँदैन। स्कुल विदाको समयमा हप्ताको ४० घण्टासम्म काम गर्न पाउछन्। जापानमा विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने सुविधा पनि छ। विद्यार्थीले एक वर्षपछि स्कुल र ठाउँ परिवर्तन गर्न सक्छन्। हाम्रो संस्कृति पनि मिल्लोजुल्दो भएकाले पनि नेपाली विद्यार्थीले जापानलाई आफ्नो शैक्षिक गन्तव्य बनाएका छन्।
नेपाली विद्यार्थी जापान अध्ययनमा जादाँ भाषा सिक्नुपर्ने हुन्छ। अष्ट्रेलिया, अमेरिका, क्यानडा गएजस्तो जापान होइन। जापान जाने विद्यार्थीको उद्देश्य स्पष्ट हनुपर्छ।नेपाली विद्यार्थी किन जापान गएका छन्, त्यहाँ पढिसकेपछि के-कस्तो अवसर पाइन्छ? भन्ने प्रमुख कुरा हो। विद्यार्थी र अभिभावकले पनि जापानको शिक्षा प्रणाली, त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्न आवश्यक छ। जापान सानो संख्याबाट सुरु भएर आज हजारौँको संख्यामा विद्यार्थी अध्ययनका लागि गएको मुलुक हो।
भाषा अध्ययन गरेपछि मात्र जापानमा विश्वविद्यालय शिक्षा लिन पाइन्छ भन्ने कुरा हामीले बुझाएका छौँ। विद्यार्थीले नोअव्जेक्सन लेटर लिदाँ समस्या भोग्नुपरेको अवस्था छ। विदेश अध्ययन अनुमति पत्र भर्ना प्रक्रिया पुरा गरेपछि स्कुलको अफर लेटरको आधारमा जारी गर्नुपर्छ भनेर हामीले माग गर्दै आएका छौँ। विद्यार्थीले एनओसी लिन सिओइ कुर्नुपर्ने अवस्था छ।
जापान जानु भन्दा अघि विद्यार्थीले आफू किन जान लागेको भन्ने विषयमा स्पष्ट हुन जरुरी छ। भाषागत दक्षता भएका विद्यार्थीलाई जापानमा अवसरको कमी हुँदैन। विद्यार्थीले अध्ययन पश्चात वर्किङ भिसा परिवर्तन गरेर जापानमा काम गर्न पाउछन्। विद्यार्थी जापान जानुपूर्व भाषागत ज्ञान हुन आवश्यक छ। विद्यार्थीले जापानीज भाषा सिकेर आफ्नो भविष्यको योजना बनाएर मात्र जापान जान सुझाव दिन्छु। अभिभावकले पनि आफ्नो सन्तान जापानमा उच्च शिक्षा अध्ययन गर्न जान लागेको भन्ने सम्झिनुपर्छ।
भाषागत दक्षता
जापान अन्य मुलुकमा भन्दा भाषागत दक्षता हासिल गरेर जानु उपयुक्त हुन्छ। जापानीजहरूले अन्य भाषालाई कम मान्यता दिएका कारण विश्वविद्यालयमा भर्ना पाउनकै लागि भाषागत योग्यता पनि तोकेका हुँन्छन्। जापान जाने विद्यार्थीले नेपालमा सञ्चालित जेएलपीटी, टप जे, जे टेस्ट, नाट, जे सट, जेएलसीटी, जेपीसी लगायतका जापानीज भाषा परीक्षाको एनफोर लेभल उत्तीर्ण गरेको हुनुपर्छ। जापानमा (एनटु लेभल) उत्तीर्ण गरेकाले मात्र विश्वविद्यालयमा भर्ना पाउँछन्।
विदेशी विद्यार्थीले भाषागत दक्षता हासिल नगरेसम्म काम पाउन पनि गाह्रो हुन्छ। विद्यार्थीले जापनीज भाषाको छोटो अनुच्छेदहरू पढ्नु पर्छ। जसका लागि जापानी भाषाको राम्रो ज्ञान हुनु जरुरी छ। जापानी वर्णमालालाई काना भनिन्छ। विद्यार्थीले हिरागाना, काताकाना, खान्जी मिस्रित वाक्यहरूलाई पढ्न सक्ने हुनुपर्दछ।
लागत खर्च
विद्यार्थी भाषा तयारी कक्षामा सहभागि हुनेदेखि जापान अप्लाई गर्दासम्म विभिन्न शिर्षकमा खर्च हुन्छ। जापान जानुपूर्व भाषागत दक्षता हासिल गरेरमात्र जानुपर्ने भएकाले भाषा पढ्न र त्यसको परीक्षा दिन शुल्क तिनुपर्ने हुन्छ। परीक्षा अनुसारका शुल्क फरक-फरक छन्। सम्बन्धित अध्यागमन विभागबाट सिओई आएपछि विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने हुन्छ। यसका लागि नेपाल सरकारलाई राजस्व बुझाउनुपर्छ। त्यसपछि विद्यार्थीले सम्बन्धित स्कुलमा ७ देखि ९ लाख वार्षिक शिक्षण शुल्क तिरेर भिसाका लागि आवेदन दिन सक्छन्। जापान अध्ययनमा जान १२ देखि १६ लाख रुपैयाँसम्म खर्च लाग्छ।
रोजगारीको अवसर
विद्यार्थीले जापानमा अध्ययन गर्दैगर्दा हप्ताको २८ घण्टा काम गर्न पाउँछन्। त्यहाँ रोजगारीका लागि विभिन्न कम्पनिहरू पनि खुलेका छन्। ती कम्पनिमा गएर विद्यार्थीले आफ्नो बायोडाटा दिएर सिप र योग्यता अनुसार काम खोज्न सक्छन्। विद्यार्थीले अध्ययन गर्दै गर्दा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, सफ्टवेयर कम्पनी, मल्टिनेसनल कम्पनिमा काम गर्ने अवसर पाउछन्।
जापानमा विद्यार्थी भिसामा गएका नेपालीले अध्ययन पश्चात टोयटा, सोनी लगायतका बहुराष्ट्रिय कम्पनिमा रोजगारीको अवसर पाएका छन्। त्यस्तै उनीहरू होटल रेस्टुरेन्ट व्यवसाय, शिक्षण पेसा, इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ लगायतका क्षेत्रमा व्यवसायीक क्रियाकलापमा संलग्न छन्।