काठमाडाैँ- नेपालबाट विदेश अध्ययनमा जान चाहने विद्यार्थीको पहिलो रोजाइको गन्तव्य अष्ट्रेलिया हो। अष्ट्रेलियाले प्रदान गर्ने विश्वस्तरीय गुणस्तरीय शिक्षा, सहज जिवन शैली, रोजगारीको सहज उपलव्धता, आप्रवासी मैत्री नियम र नेपाली समुदायसँगको सहकार्यका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको जानकारहरू बताउँछन्।
पछिल्लो समय नेपाली विद्यार्थीलाई सुरक्षित करिअरको हिसाबले अष्ट्रेलिया उपयुक्त शैक्षिक गन्तव्य भएको कंगारु एजुकेशन फाउन्डेसनका प्रवन्ध निर्देशक मेहेशबाबु तिमल्सिना बताउँछन्।
उनका अनुसार ‘नेपाली विद्यार्थी सुरक्षित करिअरको खोजिमा अष्ट्रेलिया गएका छन्। अष्ट्रेलिया नेपाली विद्यार्थीलाई सेटलमेन्टका हिसाबले पनि पहिलो रोजाइको गन्तव्य बनेको हो। तर अहिले भने अष्ट्रेलिया सरकारले विद्यार्थी भिसाको मापदण्ड बढाएसँगै भिसा आवेदन घटेको छ। अष्ट्रेलियाको शिक्षा नीति, विदेशी विद्यार्थीका लागि आवश्यक पर्ने आर्थिक कागजात र विश्वविद्यालयको मापदण्डका विषयमा केही हेरफेर भएपछी भने विद्यार्थीले अष्ट्रेलियाको विकल्पको रुपमा शैक्षिक गन्तव्य परिवर्तन गरेर क्यानडा, युके, अमेरिका रोज्ने गरेका छन्।’
अष्ट्रेलिया अध्ययनमा जान विद्यार्थीले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेश अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्ने हुन्छ। त्यसका लागि विद्यार्थीले आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट सर्टिफिकेसन अफ इलिजिविलिटी (सिओई) का आधारमा आवेदन दिन पाउँछन्। शैक्षिक परामर्श व्यवसायीले विद्यार्थीलाई परामर्श सेवा प्रदान गरेर उनीहरूलाई उचित शैक्षिक गन्तव्यको खोजि गरिदिने र भिसा प्रक्रियामा सहजिकरण गर्ने गर्छन्।
विश्व बजारमा बिक्न सक्ने डिग्री हासिल गर्न पछिल्ला केही वर्षयता अस्ट्रेलिया अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीहरू बढेको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तर भिसा सक्सेस रेट घटेसँगै गत वर्ष आवेदन दिने विद्यार्थीको संख्या पनि घटेको छ। २०७९/८० मा अष्ट्रेलिया अध्ययनमा जान सबैभन्दा बढी ३३ हजार ९ सय ९१ जनाले विद्यार्थीले एनओसी लिएका मध्य गत वर्ष २०८०÷८१ मा १४ हजार ३७२ जना विद्यार्थीले एनओसी लिएका थिए।
शिक्षा मन्त्रालयका अनुसार विगत १३ वर्षमा कुल एक सय पाँच देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्। अवसर र स्तरीय शिक्षा हासिल गर्न पाइने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको आकर्षण अस्ट्रेलियामा बढ्दै गएको देखिन्छ।
विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका विषयमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड असोसिएट्सका निर्देशक जनार्दन थपलियाले विद्यार्थीको पहिलो रोजाइको शैक्षिक गन्तव्य अष्टे«लिया नै भएपनि पछिल्लो समय भिसा रिजेक्सन बढेका कारण विद्यार्थीले अन्य मुलुकलाई पनि आफ्नो शैक्षिक गन्तव्य बनाउन थालेको बताए। उनका अनुसार,‘ अहिले फाइनान्सियल डकुमेन्टका कारण भन्दै भिसा आवेदन रिजेक्ट भएका छन्। विदेश जाने विद्यार्थीको संख्या बढेसँगै यस व्यवसायमा चुनौति पनि थपिएको छ।’
विदेश अध्ययनमा जान चाहने विद्यार्थी आफ्नो भविष्य बनाउन जाने भएकाले हरेक विषयमा सचेत हुन र आफू जाने विश्वविद्यालयको बारेमा रिसर्च गरेर मात्र जान उनले सुझाब दिएका छन्। नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आइटी, नर्सिङ, मेडिकल, होटल व्यवस्थापन, इन्जिनियरिङ, कम्प्युटर साइन्स लगायतका विषयमा अध्ययनका लागि जाने गरेका छन्।
अस्ट्रेलियाको आयआर्जन गर्ने प्रमुख स्रोतमध्ये शिक्षा पनि हो। विदेशी विद्यार्थीलाई सहज भिसाको व्यवस्था र पोस्ट स्टडी वर्कको व्यवस्थाले अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइ पर्ने गरेको चाल्स डार्विन युनिभिर्सिटी अष्ट्रेलियाको दक्षिण एसिया रिजनल डाइरेक्टर गिरिस लाइअरको भनाइ रहेको छ। उनका अनुसार विद्यार्थीको शैक्षिक प्रमाणपत्र सही छ र उसको आर्थिक हैसियत बलियो छ विद्यार्थीले अस्ट्रेलियाका लागि भिसा पाएको अवस्था छ।
अष्ट्रेलियमा विद्यार्थीले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेपछि दुई वर्ष, अनुसन्धान पास गरेपछि तीन वर्ष र विद्यावारिधि पूरा गरेपछि चार वर्षको पोस्ट स्टडी वर्क परमिट पाउने व्यवस्थाले पनि विद्यार्थी आकर्षित भएका छन्। विद्यार्थीले प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रतिर अध्ययन गर्न गए स्थायी आवासका लागि बढी अंक पाउँछन्। स्नातकोत्तर तह अध्ययन गर्न जान चाहने विद्यार्थीले डिपेन्डेन्टमा लान पाउने व्यवस्था भएकाले पनि डिपेन्डेन्टले पूर्णकालीन रुपमा काम गर्न पाउँछन्।