काठमाडाैँ- क्यानडा गुणस्तरीय शिक्षा र अध्ययन पश्चातका अवसरका हिसाबले नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। पछिल्लो समय विद्यार्थीको आवश्यकता र चाहनाले यो गन्तव्य नेपाली विद्यार्थी रोजाइको केन्द्रमा छ।
क्यानडामा अध्ययन पश्चात रोजगारीको अवसर, सुरक्षित शैक्षिक गन्तव्य, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणले नेपाली विद्यार्थी क्यानडामा आकर्षित भएका छन्।
आर्थिक रुपमा सवल र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा आर्जन गरेर विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्तीको रुपमा आफूलाई स्थापित गर्न चाहने विद्यार्थीका लागि क्यानडा फलादायी सावित भएको छ। क्यानडा अध्ययनमा जान आर्थिक रुपमा विचार गरेर मात्र जानुपर्छ। क्यानडा जाने वित्तकै सबै सहज हुन्छ भन्ने हुँदैन। क्यानडा गएको ५ – ६ वर्ष पछि भने आफूलाई स्थापित गर्न सक्छन्। अन्य मुलुकको तुलनामा क्यानडा स्थायी वसोबासका हिसावले सहज छ।
यदि छोटो अवधिलाई मात्रै हेरेर क्यानडा जाने हो भने यो गन्तव्य अलि खर्चिलो देखिन्छ। संख्यात्मक रुपमा वृद्धि भएपनि क्यानडा विद्यार्थीको पहिलो रोजाइको शैक्षिक गन्तव्य बन्न नसकेको आईसीसीसी एजुकेसनका प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए।
उनका अनुसार‘ आफ्नो परिवारका सदस्य क्यानडामा भएका कारण पनि विद्यार्थीले शैक्षिक गन्तव्यको रुपमा क्यानडालाई रोजेको अवस्था छ। क्यानडामा छोटो समयमा स्थापित हुन सकिने, स्वास्थ्य विमा, शिक्षामा छात्रवृत्ति लगायका कुराले विद्यार्थीलाई तानेको छ। क्यानडाले विद्यार्थीको वास्तविक ‘एकेडेमीक इयर ग्याप’लाई पनि जस्टिफाई गर्ने रिजन भए मान्यता दिन्छ।’
छात्रवृत्तिको व्यवस्था
क्यानडाका सरकारी विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक योग्यता ३.७ जीपीए भन्दा माथि हुनुपर्छ। अंग्रेजी भाषा परीक्षाका सबै टेस्टमा ७ अंक भन्दा माथि ल्याउने विद्यार्थीको हकमा पूर्ण छात्रवृत्ति पाउन सक्ने संभावना रहन्छ। पोस्ट ग्राजुएट तह र डिप्लोमा तहमा अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्ति पाउँदैनन्। स्नातक तह वा सो भन्दा माथि विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्ति पाउँछन्।
रोजगारीको अवसर
क्यानडामा अध्ययनकै क्रममा वा अध्ययन पश्चात कसैको रिफ्रेन्समा जाने हो भने रोजगारीको अवसर पाउन सहज हुन्छ। क्यानडा गएकामध्ये ६० प्रतिशतले रोजगारी पाएका हुन्छन्। समान्यतया क्यानडा गएको ५ देखि ६ महिना भित्र विद्यार्थीले काम पाएको अवस्था छ।
विद्यार्थी पढ्नकै लागि जाने भएकाले पढाइको अवधिमा पार्टटाइम काम गर्न पाउँछन्। विद्यार्थीले क्यानडामा हप्ताको २० घण्टा काम गर्न पाउछन्। यसरी काम गरेको पैसाले उसको दैनिक खर्च चल्न सक्छ तर कलेज फी तिन सक्ने अवस्था हुँदैन। त्यसैले नेपालबाटै एक वर्षको कलेज फी तिरेर क्यानडा जानु उपयुक्त हुन्छ।
क्यानडा सरकारले समयसमयमा विद्यार्थीलाई पनि विदाको बखतमा फूल टाइम काम गर्ने अवसर प्रदान गर्छ। क्यानडा सरकारले विदेशी विद्यार्थीलाई अध्ययन पश्चात ३ वर्ष काम गर्ने अधिकार प्रदान गरेको छ। त्यसपछि स्नातक उत्तीर्ण गरेको विद्यार्थीले स्नातकोत्तर तहमा अध्ययन गर्न पाउँछन्।
नेपालबाट कुकिङ स्कील होस वा कपाल काट्न जानेको नै किन नहोस सिप भएका व्यक्तीले सहज रुपमा रोजगार पाएको अवस्था छ। आईटीका विद्यार्थीले पढाइकै क्रममा पनि काम पाएका छन्।