काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकको छलफल तिहार पछि मात्रै हुने बताएकी छिन्। अघिल्लो वर्ष भदौँमा संसद्मा दर्ता भएको विधेयक एक वर्षमा संशोधनकर्तासँग छलफल सकिएको उनले जानकारी दिएकी हुन्।
सरकारले २०८० भदौ २७ मा संसद्मा दर्ता गरेको विधेयकमा एक सय ५४ जना सांसदले संशोधन हालेका थिए। विधेयक माथि संशोधन हाल्ने मध्ये ४० जना सांसद अनुपस्थित भए पछि प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक छलफल टुङ्ग्याएको हो। छलफलमा सहभागी सांसदहरूले सरकार र शिक्षक महासंघ बिच भएको सम्झौता अनुसार नै शिक्षा ऐन बनाउनु पर्ने बताएका छन्। दफावार छलफल टुङ्गो नलगाएसम्म संशोधनकर्तासँगको छलफलको खासै अर्थ हुँदैन।
एमाले निकट निजामती कर्मचारी संगठन शिक्षा मन्त्रालयको विभागीय कार्य समितिले आयोजना गरेको शुभकामना कार्यक्रममा भट्टराईले विधेयकमा धेरै संशोधन भएकोले छलफलमा समय लागेको बताइन्। दसैँ तिहारको बिचमा विधेयकको छलफल कसरी अघि बढाउने भन्ने छलफल गरेर तिहारपछि निष्कर्षमा लैजाने गरी अघि बढ्न लागेको उनले बताएकी हुन्।
‘संशोधन धेरै भएकोले अलमल जस्तो भयो। अब समिति र मन्त्रालय एउटा निष्कर्षमा पुगेका छौ। संशोधनकर्तासँगको छलफल सकिएको छ,’ भट्टराईले भनिन,‘अब विधेयक कसरी अघि बढाउने भन्ने बाटो पहिल्याएका छौँ। समितिले देखाएको सहज वातावरणले समिति र मन्त्रालय बिच विश्वासको वातावरण बनेको छ।’
विधेयक माथि संशोधन हाल्ने संशोधनकर्तासँगको अन्तिम छलफल असोज ४ सकिएको हो। प्रदेश स्तरमा सुझाव संकलन गरेर दफावार छलफल सुरु गर्ने कि सिधै दफावार प्रवेश गर्ने भन्ने प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्योलमा रहेको छ। मन्त्री भट्टराईले निजामती विधेयक र शिक्षा विधेयक पारित गरेपछि सरकारप्रति हुने गुनासो हल हुने बताइन्।
उच्च शिक्षा विधेयक र प्राविधिक शिक्षा सम्बन्धी विधेयक भने व्यापक छलफल गरेर मात्रै अघि बढाउने र विधेयक अघि बढाउँदा सडक आन्दोलन गर्ने भन्दा पनि सबैले स्वीकार गर्ने गरी संसद्मा लैजाने कुरा जानकारी गराइन। ‘उच्च शिक्षाको बारेमा काठमाडौँ विश्वविद्यालय, त्रिवि, मदन भण्डारी विश्वविद्यालय बिच मत भिन्नता छन् । मत ऐक्यता भएपछि मात्रै यो विधेयक अघि बढाउँछौ,’मन्त्री भट्टराईले भनिन्।