काठमाडाैँ - राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश पदमा प्रकाशमान सिंह राउतलाई नियुक्त गरेका छन्। असोज २० गते साढे १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले कार्यभार सम्हाल्ने छन्।
कानून व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त भएका उनी १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन्। राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्।
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष भइसकेका उनी बरिष्ठ अधिवक्ता हुँदा सर्वोच्च अदालतमा नियुक्त भएका थिए। सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा काम गरेको आठ वर्षपछि उनले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन्।
न्याय प्रशासनको दैनिक कामकाजमा संलग्न भएको र जिल्ला तहबाट आएकाले निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायसेवाका कर्मचारीलाई विश्वासमा लिएर काम गरेका थिए। राउतमा त्यो पृष्ठभूमि नभएकाले कर्मचारीहरुको कार्यशैली र स्वरुप बुझेर न्यायपालिकाको नेतृत्व गर्ने चुनौती उनमा छन्।
साथै, कानून व्यवसायीको पृष्ठभूमिबाट आएकाले अहिले शुरु भएको बार–बेञ्च द्वन्द्व घटाउन पनि उनले भूमिका खेल्ने अपेक्षा न्यायिक वृत्तमा छ।
प्रकाशमानसिंह राउतको पालादेखि अब करिव ११ वर्ष कानून व्यवसायीको पृष्ठभूमिबाट सोझै सर्वोच्च अदालतमा नियुक्त न्यायाधीशहरु नै न्यायपालिकाको नेतृत्व गर्ने रोलक्रममा छन्।
शपथ
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् भने संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।