काठमाडाैँ - समाजमा शिक्षकले पुर्याएको योगदानको कदर गर्दै असोज १९ गते शनिबार विश्वभर एक साथ विश्व शिक्षक दिवस मनाइएको छ। नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिएको भए पनि शिक्षाका गुणस्तर र शिक्षकका समस्या समाधानमा उल्लेख्यनीय योगदान दिन सकेको छैन।
नेपाल शिक्षक महासङ्घ तथा शिक्षकका अन्य पेसागत सङ्गठनहरूले समेत शनिबार ‘शिक्षकका आवज सुन्नूस्’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ तर हरेक वर्ष शिक्षक दिवस मनाउने गरेको भए पनि देखिने गरी शिक्षक र शिक्षाका समस्या समाधान हुन नसकेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
पछिल्लो समय शिक्षक र विद्यालय शिक्षा निकै समस्याबाट गुज्रिरहेको छ। शिक्षक सेवा आयोगले माग गर्दा आवश्यक सङ्ख्यामा शिक्षक पदमा योग्य उम्मेदवार पाउन सकिरहेको छैन। साथै आयोगले माग गरेको सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण हुन पनि सकेका छैनन्। उत्तीर्ण हुने योग्यता भएकाले शिक्षक सेवा आयोगको परीक्षा दिनै छाडेका छन्। आकर्षक मासिक तलब, सञ्चयकोष, पेन्सन आदिको व्यवस्था भएको नेपाल सरकारको स्थायी शिक्षक माग गर्दा पनि यस्तो अवस्था आउनु दुःखद भएको शिक्षकका पेसागत सङ्गठनका अगुवाको भनाइ छ।
नेपाल शिक्षक सङ्गठनका महासचिव हंशबहादुर शाहीले विद्यालय शिक्षा र शिक्षकका लागि राज्य स्तरबाट कम लगानी भएका कारण यस्तो अवस्था आएको बताए। उनका अनुसार अबको शिक्षा कस्तो हुने र? शिक्षकका आवाज कसरी मूल्याङ्कन गर्ने र? लगायतका विषयमा आफूहरूले निरन्तर बहस उठाउँदै आएको तर निष्कर्षमा पुग्न नसकेको शाहीको भनाइ छ।
'हालको कानुनले २०७५ चैत ४ पछाडि निवृत्तिभरण नपाउने भनेको छ, त्यो भन्दा अघि नै विज्ञापन भएकोले पनि त्यसपछि सामाजिक सुरक्षाकोषमा पनि गएको छैन,' शाहीले भने, 'यस्तो अवस्थाले शिक्षण पेसामा नागरिकलाई आकर्षण गराउन सक्दैन। यसतर्फ सरकार गम्भीर हुनु पर्छ ।'
सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त आयोजनामा फ्रान्सको पेरिसमा शिक्षकहरूको स्थितिसम्बन्धी सम्मेलन भएको थियो। उक्त सम्मेलन अक्टोबर ५ मा समापन भएको थियो। त्यही दिनको स्मरणमा युनेस्कोको आह्वानमा सन् १९९४ देखि अक्टोबर ५ लाई विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो। त्यसपछि बिस्तारै यो दिवस विश्वव्यापी बन्न थालेको हो।