काठमाडौँ - बागमती प्रदेशका भौतिक विकासमन्त्री अमनकुमार मास्केले यस कलेजले शैक्षिक क्षेत्रको विकासमा अब्बल भूमिका निर्वाह गरेको उल्लेख गर्दै राजनीतिभन्दा माथि उठेर कार्य सम्पन्न गर्न सबैसँग आग्रह गरेका छन्।
सबैको साझा गन्तव्य समृद्धि नै हो भन्दै मन्त्री मास्केले हालैको अविरल वर्षापछि आएको बाढी पहिरोले बागमती प्रदेशमा धेरै सडक, पुल, भौतिक संरचना, जनधनको क्षति भएको बताए।
त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेजहरुलाई कलेज सभा गर्न निर्देशन दिएपछि कलेजहरुले सभा बोलाउन सुरु गरेका छन्। सोमबार १४ गते काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ११ मा रहेको एनआर कलेजले आफ्नो प्रथम कलेजसभा सम्पन्न गरेको छ।
तारकेश्वर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका सदस्य रामेश्वर बोहराले त्रिविले विधानसम्मत कलेज सभा गरेर ल्याउन निर्देशन दिएकाले सभाको आयोजना गरिएको बताउँदै अझै भौतिक संरचना, व्यवस्थापन र शैक्षिक गुणस्तरको विकासमा जोड दिनुपर्ने बताए।
क्याम्पस प्रमुख एवम् कलेज सञ्चालक समितिका सचिव राजीप धितालले सामुदायिक कलेज भएकाले सहुलियत शुल्कमा आधुनिक शिक्षा दिइएको र प्रविधिमैत्री शिक्षा प्राथमिकतामा रहेको बताए।
स्नातकोत्तर तहमा समेस्टर प्रणालीमा एमबीएस र स्नातक तहमा बीबीएस, बीएड र बीएमा कक्षा सञ्चालन भइरहेको जानकारी दिए। कलेज आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ।
संस्थापक क्याम्पस प्रमुख धनलाल महर्जनले नेपाल राष्ट्रिय माविको संरक्षकत्वमा एनआर कलेज स्थापना भएको स्मरण गर्दै उल्लेख्य मात्रामा विद्यार्थीको सङ्ख्या बढेको खुसी प्रकट गरे।कलेजका प्राज्ञिक प्रमुख प्राध्यापक श्यामकृष्ण विष्टले कलेजको भौतिक, शैक्षिक, व्यवस्थापकीय र विद्यार्थीका समस्या समाधान गर्न कलेज सभा उपयोगी हुने विश्वास व्यक्त गरे।
कलेज व्यवस्थापन समितिका अध्यक्ष चित्रवरध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख उमेश सेढाइले शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान गर्नुभएका सबै अग्रजप्रति सम्मान प्रकट गरे।सोही सभाले नयाँ कलेज व्यवस्थापन समितिको चयन पनि गरेको छ।
अध्यक्ष चित्रवरध्वज थापा, सदस्यहरुमा रामेश्वर बोहरा, केशव खड्का क्षेत्री, रामभक्त सिग्देल, अभिमन्युराज बस्नेत, डा प्रलाद कुमार थापा, धनलाल महर्जन र रत्ना राणा रहेको जानकारी कलेज प्रशासनले दिएको छ।