काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्वेच्छिक अवकाश लिने शिक्षकको संख्या बढेको छ। शिक्षण पेसासँगै दलगत जिम्मेवारीमा बस्न पााइँदैन। सोही प्रावधानका कारण पूर्णकालीन राजनीतिमा सहभागी हुन चाहने विद्यालय शिक्षकले राजीनामा दिन थालेका हुन्।
अवकाश लिने सबै शिक्षक राजनीतिमा लाग्छन् भन्ने होइन। तर राजनीतिक दलको महाधिवेशनयता स्वेच्छिक अवकाश लिने शिक्षकको संख्या बढेको शिक्षक किताबखानाको तथ्यांक छ। विगतमा पनि शिक्षकले स्वेच्छिक अवकाश लिन्थे। तर चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा राजीनामा दिने शिक्षकको संख्या बढेको छ।
यसरी राजीनामा दिनेमध्येका एक हुन्– काठमाडौँ कुलेश्वरस्थित कुलेश्वर माध्यमिक विद्यालयका शिक्षक एसके नेपाल। उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएको बताए।
उनले भने, ‘३१ वर्ष शिक्षण पेसामा बिताएँ। अब राजनीतिक रूपमा सक्रिय हुने सोचका साथ राजीनामा दिएको छु।’ नेपाली कांग्रेसमा आबद्ध उनले नुवाकोट बेलकोट गढी नगरपालिकाको प्रमुखमा चुनाव लड्ने तयारीमा रहेको बताए।
८ महिनामा ३ हजार ४ सय ९२ जना शिक्षकले निवृत्तिभरण लिइसकेका छन्। जसमध्ये १ हजार ९ सय २० जना अनिवार्य अवकाश, १ हजार ३ सय ३९ जनाले स्वेच्छिक अवकाश र २३३ जनाको मृत्यु भएको किताबखानाको तथ्यांक छ।
नेपालजस्तै नेपाली कांग्रेस इलामको महाधिवेशन प्रतिनिधि हुनका लागि शिक्षक पूर्णप्रसाद गौतमले गत कात्तिकमा राजीनामा दिएका थिए। उनी देउमाई नगरपालिकाको नगर प्रमुखका रूपमा उम्मेदवारकी दिने तयारीमा छन्।
भगवती मावि गोलाखर्कमा अध्यापनरत हुँदा नेपाल शिक्षक संघमा आबद्ध शिक्षक गौतमले शिक्षण पेसाबाट स्वेच्छिक अवकाश लिएर सामाजिक सेवामा लाग्न राजनीतिसँग जोडिएको बताए। यी त प्रतिनिधि पात्र हुन्। शिक्षकबाट राजीनामा दिँदा कारण खुलाउन नपर्ने भएकाले पनि राजीनामा दिने शिक्षकको संख्या बढ्न सक्ने किताबखानाका अधिकारी बताउँछन्।
सरकारले शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ जारी गरेसँगै स्थानीय तहहरुले स्वेच्छिक अवकाश प्रोत्साहन रकमको घोषणा गरेपछि राजीनामा दिने शिक्षकको संख्या बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा ७९७ जना शिक्षकले राजीनामा दिएकोमा चालू आर्थिक वर्षको ८ महिनामा १ हजार ३३९ जना शिक्षकले राजीनामा दिएको किताबखानाको तथ्यांक छ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै स्थानीय पालिकामा राजीनामा दिने शिक्षकको संख्या बढेपछि निवृत्तिभरण र उपदान लिन आउने शिक्षकको संख्या बढ्न सक्ने किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेल बताउँछन्। उनी भन्छन्, ‘जागिर अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या यस वर्ष बढेको छ। अहिलेसम्म पेन्सन नपाउने १८५ जना शिक्षकले अवकाश लिएका छन्।’
अघिल्ला वर्षमा एक वर्षमा आउने राजीनामाभन्दा यस वर्ष दोब्बरले राजीनामा दिइसकेका छन्। खकुरेल भन्छन्, ‘शिक्षकले राजनीतिमा पदीय जिम्मेवारी लिन नपाउने गरी विशेष अदालतले फैसला गरेपछि दलगत राजनीति गर्ने र कुनै भूमिकामा देखिन चाहने शिक्षकले राजीनामा दिएका छन्।’
दरबन्दी मिलान कार्यविधिमा शिक्षक दरबन्दी मिलान गर्न स्थानिय पालिकाले गोल्डेन ह्यान्डसेक कार्यक्रमअन्तर्गत शिक्षकलाई उपदान उपलब्ध गराएका छन्। यसले गर्दा पनि राजीनामा दिने दर बढेको महानिर्देशक खकुरेलको भनाइ छ। कार्यविधि लागू गर्नुपर्ने भएपछि पालिकाहरूले पुराना शिक्षकको ठाउँमा नयाँ शिक्षक ल्याउने वातावरण बनाउन पुराना शिक्षकलाई न्यूनतम एक लाखदेखि पाँच लाखसम्म दिने गरी स्वेच्छिक अवकाश योजना ल्याएका छन्।
दरबन्दी मिलान गर्दा विद्यालयमा विद्यार्थीको संख्या, भौगोलिक अवस्थिति, शिक्षक संख्या, सामाजिक न्याय, समानुपातिक वितरण, भौगोलिक विषमतालाई ध्यान दिँदै गुणस्तरीय शिक्षा प्रवर्धनमा जोड दिन विद्यालयमा बढी भएको शिक्षक दरबन्दी स्थानीय तहमा, स्थानीय तहमा बढी भएको दरबन्दी जिल्लामा, जिल्लामा बढी भएको दरबन्दी प्रदेशमा र प्रदेशमा बढी भएको दरबन्दी केन्द्रमा पुलमा राखी शिक्षक दरबन्दी कम भएका विद्यालय, स्थानीय तह र प्रदेशमा मिलान तथा पुनर्वितरण गर्ने भनिएको छ।
यसरी दरबन्दी मिलान गर्दा अन्यत्र जान नचाहने सेवा अवधि पुगेका शिक्षकले पनि राजीनामा दिएका छन्। महानिर्देशक खकुरेलका अनुसार वैशाखमा ग्रेड थप हुने शिक्षकले ग्रेड पूरा गरेर निर्वाचनमा मनोनयन दर्ता गुर्नअघि राजीनामा दिन सक्ने भएकाले यो संख्या अझै बढ्न सक्नेछ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले लामो राजनीतिक पृष्ठभूमि भएका साथीहरु चुनावको दौडमा लागेकाले शिक्षक पेसा छोडेर राजनीतिलाई रोजेको बताए।
२०४८ सालमा स्थायी नियुक्ति लिएकाको हकमा पनि ३० वर्षे सेवा अवधि चैतमा सकिने भएकाले उनीहरुमध्येबाट पनि राजीनामा आउन सक्ने अवस्था छ। शिक्षकले शिक्षण पेसाभन्दा बाँकी समय राजनीतिमा दिने मनसायका कारण यो संख्या ह्वात्त्तै बढेको हो।
आव २०७७/७८ मा ३ हजार ३ सय ६० जना शिक्षकले सेवा निवृत्तिभरण लिएका थिए। जसमध्ये २ हजार ३ सय ५६ जनाले अनिवार्य अवकाश, ७९७ जनाले स्वेच्छिक अवकाश र २०७ जनाको मृत्यु भएको थियो।
यस आर्थिक वर्षको ८ महिनामा ३ हजार ४ सय ९२ जना शिक्षकले निवृत्तिभरण लिइसकेका छन्। जसमध्ये १ हजार ९ सय २० जना अनिवार्य अवकाश, १ हजार ३ सय ३९ जनाले स्वेच्छिक अवकाश र २३३ जनाको मृत्यु भएको किताबखानाको तथ्यांक छ।
शिक्षकले घरपायक मिलाएर जागिर खाएको र सेवा निवृत्त हुन खोज्दा पनि समय पगेका शिक्षकले आधा तलब घरमै बसेर पाउने भएपछि सामाजिक कामका रुपमा राजनीतिलाई माध्यम बनाउन खोजेको जानकारहरू बताउँछन्।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले लामो राजनीतिक पृष्ठभूमि भएका साथीहरु चुनावको दौडमा लागेकाले शिक्षक पेसा छोडेर राजनीतिलाई रोजेको बताए। उनले भने, ‘जीवनको महत्त्वपूर्ण समय शिक्षण पेसामा विताएर अवकाश लिन मिल्ने अवस्थामा र थोरै समयमात्र बाँकी भएका साथीहरु राजनीतिमा सक्रिय हुन राजीनामा दिनुभएको छ।’
स्थानीय तहको निर्वाचनमा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिनुलाई महासंघले सकारात्मक रुपमा लिएको उनको भनाइ छ। बौद्धिक व्यक्तिको प्रवेशले वर्तमान राजनीतिक परिपाटीमा परिवर्तन आउन सक्ने सम्भावना रहेको सुवेदीले औंल्याए। उनले भने, ‘राजनीतिमा सुधार ल्याउन शिक्षकको प्रवेश हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ।’