काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार विहिबार देखी देशभर अत्याधिक वर्षापछि आएको बाढी, पहिरोका कारण मधेश प्रदेशमा मात्र १० हजार ९०० विद्यार्थीको पठनपाठन प्रभावित भएको पुष्टि गरेको छ।
सो प्रदेशका ४२ वटा विद्यालयमा क्षति पुगेको छ भने सोही कारण देशको विभिन्न ठाउँ बाट हिजो साझ पाँच बजेसम्म प्राप्त विवरण अनुसार ८ जना विद्यार्थीको मृत्यु भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार बुटवलको कालिका मानव ज्ञान माविका लुई जना विद्यार्थी सहित ८ जनाको निधन भएको भएको हो।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको छ । उक्त विद्यालयको कक्षा ८ देखि ९ कक्षामा अध्ययनरत विद्यार्थीहरूको मृत्यु भएको उनले बताए।
पछिल्लो जानकार अनुसार बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालय प्रभावित भएका छन् तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ।
रसुवाका तीन विद्यालय, सिन्धुलीका २ विद्यालय, तेह्रथुमको १ विद्यालय, मकवानपुरको ३ विद्यालय, हुम्लाको १ विद्यालय, जाजरकोटको १ विद्यालय, पाचँथरको १ विद्यालय, मोरङको १ विद्यालय, तथा सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ विद्यालयमा क्षति पुगेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी सिन्धुलीबाट ५० जना शिक्षक तथा विद्यार्थीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। सिन्धुलीको कुशेश्वर दुम्जा गाउँपालिकामा रहेको महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

त्यस्तै सिन्धुलीकै सुनकोशी गाउँपालिकास्थित पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको र १७ जना फरक क्षमता भएका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।
