काठमाडौँ- काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा ११ गते शुक्ररबारदेखि २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरूभएको छ।
काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा ११ गते शुक्ररबारदेखि सुरू भएकोसम्मेलन १३ गते सम्म आयाेजना गरिएकाे हाे। सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के-कस्ता प्रभाव पार्छन् भन्ने विषय समावेश गरिएको छ।
यस अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय विद्वानहरू सहभागी हुने अायाेजनकले जनाएकाे छ। सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूहको छलफल(Panel Discussion) विशेष आकर्षणका रूपमा रहेको पाइन्छ।
शैक्षिक व्यक्तित्व र MELOW का अध्यक्ष मञ्जु जाइड्काले नेपालमा सम्मेलन भएकोप्रति खुसी व्यक्त गर्दै भारतबाट विद्वानहरूको टोलीसहित नेपाल अाएकाे बताइन्।त्यसैगरी सम्मेलनको उद्घाटन कार्यक्रममा प्राध्यापक बिजय केसी, प्राध्यापक मनप्रीत कौर, प्राध्यापक हेमराज काफ्ले, नारायण निरौला, प्राध्यापक कृष्णन लगायतले व्यक्तिगत धारणा राखेका थिए।
प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन-बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप-शिर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूकोविभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ।
सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि,उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिएका छन्।
सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव,संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ।
यसका अलावा मान्छेहरुको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्धर विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिएको छ।