काठमाडाैँ- नेपालमा कक्षा १२ उत्तीर्ण गरेसँगै विदेश अध्ययनमा जाने चलन चलेको छ आजभोली। विद्यार्थी मात्रै होइन अभिभावक पनि आफ्ना सन्तानलाई लागेपुगेसम्म विदेशमा पढाउने योजनामा छन्। देशको पछिल्लो राजनीतिक, सामाजीक र आर्थिक अवस्थालाई देखाउँदै अधिकाशं विद्यार्थी र अभिभावकले विदेशी शिक्षणसंस्थालाई आफ्नो उच्च शिक्षाको केन्द्र बनाएका छन्।
शिक्षा क्षेत्रका सरोकारवाला विद्यार्थी अध्ययनका लागि मात्रै नभएर अवसरको खोजिमा विदेशीयको बताउँछन्। उनीहरूले विद्यार्थीलाई उच्च शिक्षासँगै आशिंक रुपमा काम गर्दै पढ्न सकिने भएकाले पूर्व तयारीका साथ सिप सिकेर मात्र जान सुझाब दिएका छन्।
नेपालको विश्वविद्यालय शिक्षामा देखिएका समस्या, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसर नहुनुले विद्यार्थी र अभिभावकको विदेश मोह बढेको जानकारहरू बताउँछन्। विदेश अध्ययनमा जान चाहने विद्यार्थीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययनमा जानका लागि बनाएको आवश्यक मापदण्ड पुरा गरेर मात्र विदेशी विश्वविद्यालयमा भर्ना हुनुपर्छ। मन्त्रालयका अनुसार सम्बन्धित विषयमा विदेश अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर, एनओसी) लिएर मात्र जानुपर्ने हुन्छ।
विद्यार्थीले नेपालको विश्वविद्यालय शिक्षा रोजगारसँग जोडिन नसकेको र अध्ययन पश्चात अवसरको सुनिश्चितता नभएकै कारण आफूहरू विदेशीनु परेको बताउँदै आएका छन्। शैक्षिक परामर्श व्यवसायीले विद्यार्थी लहहैमा लागेर भन्दा पनि भविष्यसँग जोडिएको विषय भएकाले त्यहाँको भौतिक, शैक्षिक वातावरण र अध्ययन पश्चात रोजगारीको अवसरको विषयमा सम्पूर्ण जानकारी लिएर मात्र अध्ययन गर्न जान सुझाब दिएका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले गुणस्तरीय शिक्षा र सुरक्षित भविष्यको खोजीमा विद्यार्थी विदेश अध्ययनमा गएको बताए। उनका अनुसार, ‘सरकारले विदेश अध्ययनका विषयमा स्पष्ट नीति अख्तियार गर्न नसक्दा विद्यार्थीले समस्या भोग्नुपरेको छ। विद्यार्थी कतिपय अवस्थामा नेपालमा पनि पढ्न नचाहने र विदेशमा पनि भिसा नपाएका कारण अन्योलनमा परेका छन्। विद्यार्थी सुरक्षित भविष्यको खोजीमा विदेशीयका हुन्। उनीहरू रहरले भन्दा पनि अवसरको खोजीमा विदेशमा उच्च शिक्षा हासिल गर्न गएका हुन्।’
यस्तै इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू) ले विद्यार्थी विदेश अध्ययनमा जानुअघि आफू अध्ययन गर्न जाने देशको भाषा, पार्टटाइम कामका लागि सिप सिक्ने, आफू जान खोजेको देशको शिक्षा नीति, विश्वविद्यालयको भौतिक शैक्षिक पूर्वाधार, लागत खर्च, बस्ने स्थान लगायतका विषयमा जानकारी लिएर मात्र जान सुझाव दिए।
उनले भने,‘ विद्यार्थीले आफू अध्ययन गर्न जाने शिक्षणसंस्थाको शुल्क, आवासीय खर्च, बस्ने स्थान, रोजगारीको अवसर, अभिभावकको आर्थिक क्षमता हेररमात्र आफ्नो शैक्षिक गन्तव्य छनोट गर्नुपर्छ। विद्यार्थीले आफू पढ्न जान चाहेको विषय र अध्ययन पश्चातको योजनासहित जानुपर्छ।’
उनले अहिले प्रत्येक देशको विश्वविद्यालयका वेवसाइटमा पनि सूचना तथा जानकारीहरू राखिने भएकाले विद्यार्थीले यी माथिका सम्पूर्र्ण विषयमा रिसर्च गरेर जाँदा सहज हुने बताए।
यस्तै अर्का शैक्षिक परामर्श व्यवसायी स्टडीलेन इन्टरनेशनलका कार्यकारी निर्देशक विनोद थापाले अहिले विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन हुँदै गर्दा विद्यार्थीले आफ्नो योजना र क्षमता अनुसारको शैक्षिक गन्तव्य छनोट गर्न सुझाब दिए। उनले भने,‘ पछिल्लो समय विद्यार्थीको आकर्षण भएको मुलुक अष्ट्रेलियाले विद्यार्थी भिसामा कडाइ गरेसँगै आवश्यक मापदण्डहरू बढेको अवस्था छ। यस्तो अवस्थामा विद्यार्थीका लागि क्यानडा र युके जस्ता विश्वकै उत्कृष्ट विश्वविद्यालय भएका मुलुक विकल्पको रुपमा हुन सक्छन्।’
नेपालबाट ६६ मुलुकमा अध्ययन गर्न जान विद्यार्थीले शिक्षा मन्त्रालयबाट एनओसी लिएका छन्। शिक्षा मन्त्रालय वैदेशीक अध्ययन अनुमति(एनओसी)शाखा प्रमुख निर्प मगरका अनुसार विद्यार्थीहरू विदेशमा भविष्य सुनिश्चित गर्न वा हामीले दिन नसकेको गुणस्तरीय शिक्षा, परिवारको दवाब, व्यक्तित्व विकासको खोजिमा विदेशीयको बताउँछन्।
‘यहाँ गुणस्तर नभएर भन्दा पनि धेरै विद्यार्थी नेपालमा नभएको शैक्षिक ज्ञान, सिप र सुविधाको खोजिमा विदेशीयका छन्। विदेशमा पढ्दै कमाउन पनि सकिने भएपछि उनिहरूको आकर्षण बढेको देख्न सकिन्छ।’
अध्ययनको नाममा विदेशीय लाखाैँ विद्यार्थी
पछिल्लो समय नेपालबाट उच्च शिक्षा अध्ययन गर्न विदेश जानेको संख्यामा कमी आउने देखिदैन। पछिल्लो दुई महिनामा करिब १५ हजार विद्यार्थीे एनओसी लेटर लिइसकेका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ५९३ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। यस्तै २०७९/८० मा एनओसी लिने विद्यार्थीको संख्या १ लाख १० हजार २१७ जना थियो। आर्थिक वर्ष ०७८/७९ मा १ लाख १२ हजार ९६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए।
यो एनओसी लिएका विद्यार्थीको तथ्यांक मात्र हो। एनओसी लिएका सबै विद्यार्थी विदेश अध्ययनमा जान्छन् भन्ने हुँदैन। आर्थिक बर्ष २०७९/८० मा १ लाख २२ हजार ५१४ जनाले एनओसी लिन आवेदन दिएका मध्ये १२ हजार २ सय ९७ जनाको रद्द भएको थियो। आर्थिक वर्ष २०७६÷७७ मा ३४ हजार ९४ जनाले नोअव्जेक्सन प्रमाणपत्र लिएका थिए। २०७५/७६मा ६३ हजार २५९ जनाले नोअव्जेक्सन प्रमाण पत्र लिएका थिए।
कोभिड महामारीयता हरेक आर्थिक वर्षमा विदेश पढ्न जानका लागि एक लाखभन्दा बढी विद्यार्थीले एनओसी लिँदै आएका छन्। अध्ययनका लागि विदेश जानेको संख्या बढेसँगै नेपालबाट बाहिरिने मुद्रा पनि बढेको छ। गत वर्ष ६६ देशमा ९४ विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको थियो। २०८० साउनदेखि ०८१ असार मसान्तसम्म सबैभन्दा बढी जापानका लागि ३४ हजार ७३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए। जापानपछि नेपाली विद्यार्थीका आकर्षणमा क्रमशः क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायत मुलुक छन्।
मन्त्रालयको तथ्यांकअनुसार जापानपछि क्यानडा अध्ययनमा जान १५ हजार ९८२ जना विद्यार्थीले एनओसी लिएका थिए। अस्ट्रेलिया जान १४ हजार ३७२ जना, बेलायत जान १३ हजार ३३९ जना, अमेरिका जान ११ हजार २६१, दक्षिण कोरिया जान ६ हजार ८८९ जना विद्यार्थीले एनओसी लिएका थिए। यसका अलावा भारत, यूएईमा उच्चशिक्षा अध्ययनका लागि जाने विद्यार्थीको संख्या वार्षिक रूपमा २ हजारभन्दा बढी छ भने डेनमार्क, फिनल्यान्ड, फ्रान्स, न्युजिल्यान्ड जाने विद्यार्थीको संख्या पनि १ हजारभन्दा माथि छ। बाँकी मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या एक हजारभन्दा कम छ।
किन विदेशिँदै छन् विद्यार्थी?
नेपालको शिक्षा प्रणालीमा देखिएको लापर्बाही, परिवारले विद्यार्थी माथि राखेको सपना, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसरको कमी वा चाहेको जस्तो गुणस्तरीय शिक्षाको अभावको कारण विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या बढेको जानकारहरू बताउँछन्।
अध्ययनका लागि विदेश जानेको संख्या बढेका कारण उच्च शिक्षा प्रदायक नेपाली शिक्षण संस्थामा विद्यार्थी अभाव भएको शिक्षा मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलले बताए। उनले भने,‘विद्यार्थी विदेश जानुमा सामाजिक, आर्थिक, रोजगारीका कारण पनि होलान् तर यहाँको पढाइको गुणस्तर सुधार गरेर पनि त्यसलाई रोक्नसक्ने अवस्था भने छैन। रोजगारीको अवसर पनि सृजना गर्न सक्नुपर्छ।’ पढाइसँगै काम पनि गर्न पाइने भएकाले धेरै विद्यार्थीमा विदेश मोह बढेको हो।
काठमाडौँ विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. बालचन्द्र लुइटेलका अनुसार विश्वविद्यालय शिक्षालाई राम्रो बनाउनुपर्छ भन्ने विषयमा सरकारले ध्यान दिनुपर्छ। देशको शिक्षा नीति समयानुकूल बनाउनुपर्छ। पढाइसँगै काम पनि पाइने भएकाले अभिभावकले विदेश पठाउन सम्पत्ति नै बेचेर भएपनि आफ्नो सन्तानको भविष्यका लागि लगानी गर्दै आएका छन्। सरकार र विश्वविद्यायहरूले पनि विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्ने योजना ल्याउन सक्नुपर्छ। जसले गर्दा विद्यार्थी स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बन्छ।
विदेश अध्ययनमा जानुअघि विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
१. विद्यार्थीले विदेश अध्ययनमा जानुपूर्व शैक्षिक परामर्शदाताकोमा गइ त्यहाँको विश्वविद्यालय क्याम्सको शैक्षिक वातावरण र भिसा प्रोसेसिङको बारेमा परामर्श लिनुपर्छ। जसका लागि अनुभवि, दक्ष र विश्वासिलो परामर्शदाता छनोट गर्नुपर्छ।
२. नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको र धैरै क्याम्पस र विश्वविद्यालयसँग समन्वय भएको परामर्शदातृ संस्था छनोट गर्नुपर्छ अन्यथा ठगीने डर हुन्छ।
३. आफू अध्ययन गर्न जाने देश, शिक्षणसंस्था र विषयको बारेमा रिसर्च गर्नुपर्छ। त्यहाँको संस्कृति, चालचलन, जिवनशैलिको विषयमा बुझेर आवश्यक सिप र ज्ञान लिएर मात्र अध्ययनका लागि जानु उपयुक्त हुन्छ।
४. आफ्नो रोजाइको विषय अध्यापन हुने कलेज वा विश्वविद्यालय छनोट गर्दा भविष्यको योजना अनुसार मिल्छ कि मिल्दैन ध्यान दिनुपर्छ।
५. विद्यार्थीले अभिभावकको आर्थिक अवस्थालाई मध्यनजर गरेर मात्र देश र शिक्षणसंस्था छनोट गर्नुपर्छ।
६. भाषागत दक्षता हासिल गरेर र आशिंक समय कामका लागि आवश्यक पर्ने सीप सिकेर मात्र विदेश अध्ययनमा जानु उपयुक्त हुन्छ।
७. विद्यार्थीले अध्ययन पश्चात दक्षता हासिल गर्ने उद्देश्य राख्नुपर्छ।
८. नेपालमा परामर्श व्यवसाय सञ्चालन गरी विद्यार्थीलाई लामो समयदेखी परामर्श सेवा प्रदान गर्दै आएका धेरै भन्दा धेरै व्यवसायीहरूबाट परामर्श लिएर इच्छाएको ठाउँमा अध्ययनका लागि जानुपर्छ।
९. विदेश अध्ययनमा जाने विद्यार्थीले त्यहाँको शिक्षणसंस्था र विश्वविद्यालयसँग सिधा सम्पर्क भएका परामर्श व्यवसायीबाट परामर्श लिई आवश्यक कागजपत्र तयार गरेर भिसा आवेदन गर्नुपर्छ।
१०. विदेश अध्ययनमा जाँदैमा सबै कुरा पाईन्छ र सहज हुन्छ भन्ने धारणा राख्नुहुँदैन, विदेशमा गएर पाइने काम, बसोवास, पढ्ने शिक्षणसंस्थाले दिने सुविधाको वारेमा राम्रोसँग बुझेर मात्र जानुपर्छ।