काठमाडाैँ - नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएकाे छ। संघले परम्परालाई निरन्तरता दिंदै यस वर्ष १५ औं संस्करण भव्यताका साथ आयोजना गर्ने भएको हाे। यो शैक्षिक मेला कोभिड-१९ महामारी पछि ECAN ले आयोजना गरेको पहिलो शैक्षिक मेला हो। यस शैक्षिक मेला आयोजना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृति लिइएकाे आयोजकले जनाएकाे छ।
नेपालको सवैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा स्थापित भइसकेको इक्यान मेला काठमाडौँको एभरेष्ट होटलमा आगामी असोज १३ गते (Sep 29) मा आयोजना हुने भएकाे छ।शैक्षिक मेला, विहान १० बजे देखि वेलुका ५ बजे सम्म आयोजना हुने इक्यानले पत्रकारसम्मेलन गरेर जानकारी दिएकाे हाे। यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागेकाे आयोजकले बताएकाे छ।
यस शैक्षिक मेलामा करिब १५ हजार भन्दा वढि विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने आयोजककाे अपेक्षा छ। यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ। यस मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुनेछ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेकाे छ।
वन अप प्रा. लि.को व्यवस्थापन गरेकाे यस मेलाको Title Sponsor को रुपमा Real Dreams Educational Consultancy Pvt. Ltd रहेको छ भने In Association को रुपमा Ved International Education Pvt. Ltd. रहेको छ। त्यस्तै प्रायोजकको रुपमा KIEC Pvt. Ltd., Orbit International Education Pvt. Ltd, Grace International Pvt. Ltd., Nobel Education Foundation Pvt. Ltd. / Wide Range International Pvt. Ltd रहेका छन्। IELTS Partner को रुपमा British Council रहेको छ।
विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुनेछ। यस मेलाले विशेष गरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्ने आयोजकले जनाएकाे छ। यसै गरी विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्ने अवसर पाउनेछन्।
मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा संघले गरेकाे छ।
शैक्षिक परामर्शदाताहरुको सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेको आयोजकले जनाएकाे छ।