कठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार शिक्षाको गुणस्तर सुधार गर्न र शिक्षकका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएकी छन्। शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन मार्फत शिक्षाको गुणस्तर सुधार गर्ने विषयमा संसदीय समितिमा छलफल गरेर ऐनलाई तत्काल जारी गर्नुपर्ने बताइन्।
‘शिक्षामा सुधार संभव छ। तर यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट हुनुपर्छ। स्थनिय तह, प्रदेश र संघबीच शिक्षाका मुलभुत समस्या समाधान गर्न समन्वय आवश्यक छ। ऐनले शिक्षकको सम्मानलाई पनि परिभाषित गर्न सक्नुपर्छ।’, उनले भनिन्,‘शिक्षकका समस्याप्रति मन्त्रालय सजग छ। ऐनमार्फत ती विषय समाधान हुनुपर्छ। विद्यालय शिक्षा ऐन जारी गर्ने सवालमा मन्त्रालय प्रतिवद्ध छ।’
सरकारले शिक्षक दरबन्दीका विषयमा थप अध्ययन गरेर शिक्षक विद्यार्थी अनुपातमा सुधार गर्ने, पाठ्यक्रममा परिमार्जन गर्न सर्वेच्छण गर्ने, परीक्षा प्रणालीमा सुधार गर्ने र तल्लो तहको सिकाइ उपलब्धी परिक्षण गरेर नयाँ योजना तर्जुमा गर्ने मन्त्री भट्टराईको भनाइ छ।
मन्त्री भट्टराईले विश्वविद्यालय शिक्षा सुधारमा पनि आफूले काम गरिरहेको र यसको परिणाम देखिन केही समय लाग्ने बताउँदै विश्वविद्यालयले कलेजलाई दिने सम्बन्धनका विषयमा पनि मापदण्ड बनाउन आवश्यक रहेको तर्फ आफ्नो ध्यान गएकोमा जोड दिइन्।
शैक्षिक परामर्श व्यवसाय र विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजको विषयमा बोल्दै मन्त्री भट्टराईले यी कन्सल्ट्यान्सी र कलेजलाई एउटा दिशानिर्देश गरेर व्यवस्थित गर्ने सरोकारवालासँग छलफल गर्ने बताइन्। समाजकाे अधिवेशनबाट अध्यक्षमा देवीप्रसाद सापकाेटा सर्वसम्मत चयन भएका छन् भने महासचिवमा स्याम तण्डुकार चयन भएका हुन्।
यस्तै कार्यक्रममा शिक्षा क्षेत्रमा याेगदान पुर्याएका व्यक्तिलाइ सम्मान गरिएकाे थियाे।
सम्मानित हुने व्यक्तिकाे विवरण
१. प्रा डा वासुदेव काफ्ले, काठमाडौँ
(प्राध्यापन, अनुसन्धान र अभियन्ताका रुपमा विगत चार दसकदेखि शैक्षिक विकास र रुपान्तरणमा योगदान तथा यस समाजको सल्लाहकारसमेत रही योगदान गरेको ।)
२.बिमला विश्वकर्मा, व्यवस्थापन समितिका अध्यक्ष, गणेश मावि, सिन्धुुली
(विद्यालयको शैक्षिक उन्नयनमा एक दसकभन्दा बढी समयदेखि नेतृत्वदायी र क्रियाशील भूूमिका निर्वाह गरेको)
३. युुवराज बम,प्रिन्सिपल, कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, कैलाली
(द्वन्द्वकालमा प्रभावित भएर र हाल सूचना प्रविधिको समेत उच्चतम प्रयोगसहित शैक्षिक गुणस्तरमा विगत दुुई दसकदेखि सम्लग्न रहेको)
४. रेखा यादव, सामाजिक परिचालक, धनुुषा
(सामाजिक परिचालक र शिक्षक भइ दुई दसकदेखि शैक्षिक विकासमा योगदान गरेको। हाल आसमान नेपालको सञ्चालक सदस्यसमेत।)
५. नगरप्रमुुख भीमलाल अधिकारी ,मध्यविन्दुु नगरपालिका, नवलपरासी (बर्दघाट सुस्तापूर्व)
(शिक्षा विकासलाई प्राथमिकता दिँदै ‘हाम्रो खुशी नमूना पाठ्यक्रम` नेपालमै पहिलोपटक कार्यान्वयन गरेको)
६.सूर्यप्रसाद पाण्डे, शिक्षा पत्रकार, गोरखापत्र दैनिक
(लामो समयदेखि शिक्षा पत्रकारितामार्फत शैक्षिक रुपान्तरणमा भूमिका निर्वाह गरेको) रु २५ हजार राशीसहित ।