काठमाडौँ- २०७८ सालको सुरुमै कारोना महामारीको दोस्रो लहरले थलिएको शैक्षिक क्षेत्रमा केही सम्झन लायक परिवर्तन भएका छन्। विभिन्न माग राखेर लामो समयदेखि जारी शिक्षक आन्दोलन अन्त्य भएको छ।शिक्षक सेवा आयोगको विज्ञापन खुलेको छ भने शैक्षिक निकायमा पदाधिकारी नियुक्ति भएका छन्। यस्तै शिक्षक र विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ। विद्यालयमा पठनपाठन नियमित रूपमा हुन थालेको छ।
लामो समयदेखि शिक्षकले उठाएका मुद्दामा सरकार र महासंघबीच सहमति भए पनि नीतिगत र कानुनी जटिलताका कारण कार्यान्वयन हुने अवस्था भने बनेको छैन। संघीय शिक्षा ऐन, विश्वविद्यालय छाता ऐन, प्राविधिक शिक्षा ऐन निर्माण हुन नसक्दा शिक्षा क्षेत्रमा सुधारमा नीतिगत जटिलता कायमै छ।
आंशिक प्राध्यापक र विद्यार्थी संगठनले विगत तीन महिनादेखि त्रिभुवन विश्वविद्यालयमा गरेको तालाबन्दी कायमै छ। यस्तै विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा योग्यता र दक्षताभन्दा पनि राजनीतिक आधारमा हुने परिपाटी कायमै रहेको छ।
शिक्षण सिकाइ क्रियाकलापमा भर्चुअल प्रविधिको प्रयोगले यस वर्ष पनि निरन्तरता पायो। तर विद्यालय तहका सबै बालबालिकामा प्रविधिको सहज पहुँच नहुँदा सिकाइ कार्य त्यति प्रभावकारी हुन सकेन।
भूकम्पपछि अधिकांश पहाडी क्षेत्रमा विद्यालयका नयाँ र आकर्षिक भवन बनेका छन्। तर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षित हुन सकेको छैन। महामारीका बेला पनि सहरी क्षेत्रका निजी स्कुलले अभिभावकसँग चर्को शुल्क उठाउन भने छाडेनन्।
वर्ष २०७८ लाई बिदाइ गरी नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै गर्दा ०७८ सालमा शिक्षा क्षेत्रमा भएका केही प्रमुख उपलब्धि यस्ता छन् :
१. देशव्यापी रुपमा १२ वर्षमाथिका विद्यार्थीलाई कोभिड– १९ विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन।
२. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन।
३. कक्षा १० सम्म रंगीन पाठ्यपुस्तक लागू र कक्षा ११ को नयाँ पाठ्यक्रम निर्माण।
४. प्रारम्भिक बाल विकास शिक्षक र विद्यालयका कर्मचारीको तलब न्यूनतम १५ हजार दिने निर्णय।
५. शिक्षा नियमावली, २०५९ को नवौं संशोधन गरी शैक्षिक सत्र २०७८ असार १ गतेबाट सञ्चालन।
६. विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयमा पूर्वाधार निर्माण विकास समिति गठन।
७. शिक्षक दरबन्दी मिलान गर्नुका साथै शिक्षक सेवा आयोग मार्फत १७ हजार शिक्षकको स्थायी पदपूर्तिको लागि विज्ञापन र अध्यापन अनुमतिपत्रको विज्ञापन।
८. चितवनको भरतपुरमा शिक्षक अस्पताल निर्माण प्रक्रिया सुरु।
९. नेपाल विश्व विद्यालय पूर्वाधार विकास समिति गठन।
१०. राष्ट्रिय पुस्तकालय र त्रिवि केन्द्रीय पुस्तकालय भवन निर्माण कार्य सुरु।
११. नर्सिङ कार्यक्रम सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने नियम लागू।
१२. शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति, राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष, नेपाल खुला विश्वविद्यालयको कुलपति र सीटीइभीटीको सदस्यसचिवको नियुक्ति।
१३. शिक्षक महासंघसँग शिक्षकका पेसागत मागका सम्बन्धमा ५१ बुँदे सम्झौता, शिक्षक आन्दोलन स्थगित।
१४. विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित शिक्षण संस्थाहरूलाई मापदण्ड नहेरी सञ्चालन स्वीकृति।
१५, प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास ऐन, संंघीय शिक्षा ऐन, स्वास्थ्य प्रतिष्ठान सञ्चालनसम्बन्धी एकीकृत ऐन, उच्च शिक्षा ऐन, राष्ट्रिय योग्यता ढाँचाको मस्यौदा तयार।
१६. पढ्दै कमाउँदै कार्यक्रमका लागि कार्यविधी तयार गरी विद्यालय छनोट।
१७. दसवर्षे विद्यालय शिक्षा क्षेत्र सुधार योजना स्वीकृत गरी कार्यान्वयन प्रक्रिया सुरु।
१८. निजी विद्यालय सञ्चालकहरुको छातासंगठनमा नयाँ नेतृत्व, प्याब्सनको अध्यक्षमा डिके ढुंगाना, एन प्याब्सन अध्यक्षमा पाण्डव हमाल ठकुरी र हिसान अध्यक्षमा रमेश सिलवाल निर्वाचित।
१९. शैक्षिक परामर्शदाता सेवा नवीकरण र विदेश अध्ययनका लागि अनुमतिपत्र वितरण अनलाइनबाट।
२०. पाठ्यपुस्तक छपाइ र वितरण समयमै सम्पन्न गर्ने र २०७९ को शैक्षिक सत्र जेठदेखि आरम्भ गर्ने निर्णय