काठमाडाैँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले विद्यार्थीको जाँचमा खेलवाड गर्न नहुने बताएकी छिन्। विश्व विद्यालयमा राजनीतिक दल हावी हुँदा यस्तो समस्या देखिएको उनको टिप्पणी छ।
‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस्’, उनले भनिन्।
विद्याविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ। एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी। दुईटा विद्यार्थी संगठनको लडाईंमा पढ्छु मात्रै भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’ रास्वपा सांसद श्रेष्ठले प्रश्न गरिन्।
सांसद श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार हुने भनिएको दीक्षान्त समारोह स्थगित भएकोबारे पनि सरकारको ध्यानाकर्षण गरिन्।
‘यो एएफयुको जाँच कहिले हुन्छ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह कहिले हुन्छ?’ श्रेष्ठले प्रश्न गरिन्। कर्णालीको दीक्षान्त समारोहमा प्रधानमन्त्रीले अन्तिम समयमा कार्यव्यस्तता भनेको सुनेको भन्दै सांसद श्रेष्ठले त्यस्तो नगर्न सुझाव पनि दिइन्।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीक्षान्त समारोह नै रोकियो। आइतबार हुने भनिएको दीक्षान्त समारोहमा सबै विद्यार्थीहरु अब त दीक्षित भइन्छ भनेर गए, प्रधानमन्त्रीज्यूले, कुलपतिज्यूले राति म आउन सक्दिन, कार्यव्यस्तता भन्नुभयो। कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो ? कार्यक्षमतामा पटक पटक प्रश्न उठ्न थाल्यो। विद्यार्थीको दीक्षित हुने हक होइन त्यो?’ उनले प्रश्न गरिन् ।