काठमाडाैँ - के तपाई दशैँमा नयाँ नाेट साट्ने याेजनामा हुनुहुन्छ यदि हुनुहुन्छ भने यस पटक तपाईले पुरानै नाेटबाट काम चलाउनुपर्ने भएकाे छ। नेपाल राष्ट्रबैँकले यसपालि दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्ने भएकाे छ। राष्ट्र बैँकका सहायक सूचना अधिकारी डा. भागवत् आचार्यका अनुसार यसपालि नयाँ नोटको सट्टा सुकिला नोट उपलब्ध गराउने निर्णय भएको हाे।
विगतमा केन्द्रीय बैँकले प्रमुख चाडबाडका बेला सर्वसाधारणलाई अर्बौँ रुपैयाँबराबरका नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको थियो। डिजिटल भुक्तानीलाई प्रोत्साहन स्वरुप यो निर्णय लिइएको सहायक सूचना अधिकारी आचार्यले जानकारी दिए।
उनका अनुसार नेपालमा अहिले सानातिना नोटहरू कारोबारमा प्रयोग नभएर केवल फिर्ता दिनका लागि प्रयोग हुन थालेको भन्ने एउटा सर्वेक्षणको निष्कर्षका आधारमा यसपालि नयाँ नोट नदिने निर्णय गरिएकाे हाे। नोट छपाइ र त्यसपछि तिनको व्यवस्थापनमा धेरै खर्च हुने भएकाले पनि नयाँ नाेट जारी नगर्ने निर्णयमा राष्ट्र वैंक पुगेकाे हाे।
नेपाली नोटहरूको स्वदेशमा नभई विदेशमा छपाइ हुँदै आएको छ र त्यसको लामो प्रक्रिया हुने गरेको अधिकारीहरू बताउँछन्। साना नोटको मूल्यभन्दा तिनको छपाइमै धेरै खर्च लाग्ने गरेको त्यसकारण केही वर्ष यता राष्ट्रबैँकले एक र दुई रुपैयाँको नोटको छपाइ नै बन्द गरेको छ।
आचार्यले भने,'नोटको छपाइ खर्चदेखि व्यवस्थापन खर्च धेरै खर्चिलो हुने गरेको स्थिति भएको हुनाले त्यसलाई न्यूनीकरण गर्नका निम्ति नयाँ नोट वितरणलाई स्थगित सुकिला नोट दिने व्यवस्था गरिएको हो'।
कस्ताे नाेटलाई सुकिला नोट भन्ने ?
आचार्यका अनुसार छापिएर आएको तर बजारमा नगएको नोटलाई नयाँ नोट भनिन्छ भने सुकिला नोट भनेको बजारमा गएर प्रयोगमा पनि आइसकेको हुन्छ। प्रयोग गर्न योग्य नरहेपछि त्यस्ता नोटलाई सङ्कलन गरी राष्ट्र बैँकले जलाएर नष्ट गर्ने गरेको छ। चलनचल्तीमा आइसकेका तर प्रयोगयोग्य नोटहरूलाई चाहिँ सुकिला नोट भनिन्छ। सामान्यतया पाँच सय र एक हजार रुपैयाँका दरको नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि सय रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुन्छ। मुख्य चाडबाडका बेला आवश्यक पर्नेभन्दा बढी नै सुकिला नोट कोषहरूमा रहेको अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र बैँक, नेपाल बैँक र राष्ट्रिय वाणिज्य बैँक गरी देशभरि ८० भन्दा बढी नोटकोषहरू रहेका छन्।