काठमाडौँ - सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले नै भर्ना, मासिक शुल्कलगायतका शुल्क व्यहोर्ने भएको छ। स्नातक अध्ययन गर्ने विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यार्थी बढाउन गापाले भर्ना, मासिक शुल्कलगायतको शुल्क छात्रवृत्ति स्वरुप व्यहोर्न लागेको हो।
सुनकोशी गापामा दुई वटा मात्र क्याम्पस छन्। वडा नं ७ मा सुनकोशी क्याम्पस र वडा नं १ मा ठोकर्पा सामुदायिक क्याम्पस सञ्चालनमा छन्। ती क्याम्पसहरुमा व्यवस्थापन र शिक्षा सङ्काय पढाई हुन्छ। तर स्नातक अध्ययन गर्ने विद्यार्थीहरुको रुचिमा दुवै क्याम्पसमा नपढेपछि क्याम्पस सञ्चालनमा मुस्किल परिरहेको छ। सुनकोशी गापाका सात वडाका विद्यार्थीले मात्रै उक्त सुविधा पाउने छन् ।
आर्थिक वर्षदेखि स्नातक अध्ययन गर्ने विद्यार्थीले भर्ना हुन चाहेमा उक्त सुविधा पाउने छन्। पालिकाभित्रका विद्यार्थीहरु गापा भित्रकै क्याम्पसमा स्नातक अध्ययन गर्न चाहेमा सो गापाले नीति तथा कार्यक्रममा पनि भर्ना, मासिक शुल्क व्यहोरिदिने निर्णय गरेको अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जनाकारी दिए ।
स्नातकका सबै वर्षहरुमा छात्रवृत्ति स्वरुप भर्ना, मासिक शुल्क सबै व्यहोर्ने निर्णय रहेको र क्याम्पसमा रेगुलर अध्ययन गर्न आउने विद्यार्थीले उक्त सुविधा पाउने तर घरमै बसेर पढ्ने विद्यार्थीले सो सुविधा नपाउने तिमल्सिनाले जानकारी दिएका छन्।
स्नातकमा भर्ना, मासिक शुल्क, क्याम्पस सञ्चालनका लागि १५ लाख बजेट छुट्याएको छ। त्यसका लागि गापाले कार्यविधि बनाउने भएको छ। दुवै क्याम्पसहरुले विद्यार्थी तथ्थाङ्क निकाल्दै छन्। स्नातक अध्ययन गर्ने विद्यार्थीलाई उत्पादनमा जोड्ने पनि उसले नीति लिएको छ। गाउँघरका क्याम्पसमा काम, जागिर गर्दे पढ्न सक्ने अवस्था नहुदाँ स्नातकमा विद्यार्थी टिकाउन मुस्किल परेकोले छात्रवृत्ति स्वरुप भर्ना, मासिक शुल्क व्यहोर्ने गापाको उद्देश्य हो। आगामी दिनमा सुनकोशी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।
साथै उक्त गापाले कक्षा १ देखि १२ कक्षासम्मको शिक्षालाई पूर्ण निःशुल्क बनाएको छ। त्यसका लागि ३० लाख हाराहारीमा बजेट विनियोजन गरिसकेको छ। परीक्षा शुल्क लगायतका शुल्क पनि पालिकाले नै प्रबन्ध गरेको उक्त गापाले जनाएको छ। सुनकोशी क्याम्पसको २४ औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दे गापा अध्यक्ष तिमल्सिनाले उक्त दुवै कुरा बताएका हुन्।