काठमाडाैँ- उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श व्यवसायीहरूलाई विद्यार्थी विदेश पठाउने मात्र होइन विदेशीयका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउने गरी काम गर्न व्यवसायीलाई आग्रह गरेका छन्। बिहीबार काठमाडाैँमा आयाेजित इक्यानकाे २८ वार्षिकाेत्सव समाराेहलाई संवाेधन गर्दै मन्त्री भण्डारीले इक्यानकाे भूमिकालाई परिवर्तन गर्दे मुलुकलाई शैक्षिक हबकाे रुपमा विकास गर्नुपर्ने बताए।
उनले पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै मन्त्री भण्डारीले अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने विश्वाश दिलाउन सक्नुपर्नेमा जाेड दिए।
'सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेको छ। नेपालकाे शैक्षिक विकासमा इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण छ।', उनले भने, ‘उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको छ।'
नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेकाले यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका हुने उनकाे भनाइ थियाे।
सरकारले ‘स्टार्टअप’ लगायतका नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए।
शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले लामो समयदेखि बन्द रहेको शैक्षिक परामर्श संस्थाको नवीकरण प्रक्रिया हालै सुरु भएकाले व्यवसाय सञ्चालनमा अब थप सहज हुने बताए। मन्त्रालयबाट पनि नवीकरणको प्रक्रिया छिटो टुंगाेमा पुर्याउन निर्देशन प्राप्त भएको उल्लेख गर्दै नवीकरण प्रक्रिया चाडै पुरा हुनेमा विश्वस्त हुन आग्रह गरे।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले शैक्षिक परामर्श व्यवसायका लागि छुट्टै कानून आवश्यक भएको धारणा व्यक्त गरे। नेपालमा पनि विभिन्न देशबाट विद्यार्थी ल्याउन सकिने धारणा राख्दै शैक्षिक हबका रुपमा नेपाललाई विकास गर्न सकिने बताए।
यस्तै कार्यक्रममा बाेल्दै नेपाल शैक्षिक परामर्श महासघंका अध्यक्ष राजेन्द्र बरालले इक्यानलाई विगत २८ वर्ष देखी सहयोग गर्दे आउने हातहरूलाई धन्यावाद ज्ञापन गरे। उनले विदेश अध्ययन गर्न गएका विद्यार्थीहरूलाई ज्ञान आर्जन गरी नेपाल फर्केर आउँ भनि मोटिभेट गर्न नसक्नाले बाहिर जानेको संख्या बढेको बताए।
अध्यक्ष बरालले शैक्षिक परामर्श क्षेत्रलाई हेर्ने सोचमा परिवर्तन जरुरी रहेको र सकारात्मक सोचका साथ अघि बढ्ने उल्लेख गर्दै नेपाललाई शैक्षिक गन्तव्य बनाउनका लागि यस क्षेत्रले काम गरिरहेको विषयमा जाेड दिए। 'नेपाली अभिभावकहरूले परामर्श दातालाई सहयोगीका रूपमा मात्र लिनुपर्छ। विद्यार्थी विदेश जादाँ बैँक, वडा कार्यालय, वकिल, इन्जिनियरहरूले दिएको स्वीकृती बमोजिम हामीले इच्छा अनुसारको शैक्षिक गन्तव्य तय गरिदिने मात्र हो।', उनले भने, ‘कन्सल्टेन्सिले देश खाली बनाई विद्यार्थी पठायो भन्ने भ्रम हटाउनुहोस् र गएर एकचोटी राजेश हमालको ‘यो नेपाली शिर उचाली’ भन्ने प्रोगाम हेर्नुस् त्यो प्रोगामले देखाउँछ विद्यार्थीको स्तर अनि हामीलाई आएर धन्यावाद दिनुहुन्छ।’
यस्तै कार्यक्रममा बाेल्दै इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले लामो समयपछि शैक्षिक परामर्श दातृ संस्थाहरू नवीकरणको प्रक्रियामा गएकोमा खुसी व्यक्त गरे। यो क्षेत्र नियमनको अभावमा सञ्चालन भइरहेको अवस्थामा इक्यानकै सक्रियतामा विगतमा निर्देशिका बनेको स्मरण गर्दै थप नीतिगत स्पष्टताका लागि इक्यानले पहल गरिरहेको बताए।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले संस्थाको २८ वर्षको इतिहासमा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै आजको सहभागिताले आगामी यात्रामा अझ सशक्त भइ अघि बढ्ने हौसला मिलेको बताए। उनले भने, 'कुनै पनि देश विकासका लागि उक्त देशका युवा पिँढीले उन्नत शिक्षा पाउनुपर्छ। त्यसका लागि इक्यानलगायत संस्थाकाे भूमिका महत्त्वपूर्ण हुन्छ।'
कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।