काठमाडौं – पाठ्यक्रम विकास केन्द्रले पुस्तक प्रकाशक र निजी विद्यालयको मिलेमतोमा जथाभावी रुपमा पाठ्यपुस्तक विक्रिवितरण भएको अनुगमनका क्रममा भेटिएको जनाएको छ । आईतबार केन्द्रले सुचना जारी गर्दै पाठयपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिबाट अनुगमन गर्दा बजारमा पुरानो नक्सा भएका पाठयपुस्तक तथा पाठपसामग्रीहरू विकीवितरण भइरहेको, सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री वितरण गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यममा प्रकाशन गरीएको, पुस्तकको मूल्यमा कालो पोतिएको एवं मूल्य नै नराखेर पुस्तक विक्रिवितरण भएको पाईएको जनाएको हो ।
केन्द्रले निर्देशनको अटेर गरी बिक्रीवितरण गर्ने प्रकाशक र वितरकहरूलाई कारबाहीको दायरामा ल्याउन स्पष्टीकरणका लागि पत्र काटिसकेको जनाएको छ।
विद्यालयमा प्रयोग हुने पाठयपुस्तक तथा पाठ्यसामग्रीका सम्बन्धमा पाठ्यपुस्तक वित्तरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको जेष्ठ २८ गते बसेको बैठकले स्वीकृत पाठयपुस्तक तथा पाट्यसामग्रीहरूमा अनिवार्य रूपमा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा प्रयोग भएको हुनुपर्ने, गत वर्षहरूमा नै छपाइ भएका पाठ्यपुस्तक तथा पाठयसामग्रीहरूमा नेपालको नयाँ नक्सा समावेश गरी पुनः छपाई गर्नुपर्ने निर्णय गरेको थियो ।
केन्द्रले सबै प्रकाशक र वितरकहरुलाई पाठयक्रम विकास केन्द्रको असार १ गतेको निर्देशनबमोजिम तत्काल नयाँ नक्साको प्रयोग हुने गरी पाठयपुस्तक तथा पाठ्यसामग्रीहरू बिक्री वितरण गराउनुहुन पुनः निर्देशन दिएको थियो तर निर्देशनको अटेर गर्दै प्रकाशन गृह र विद्यालयले मनोमानी गरेको पाईएको हो । केन्द्रले अब हुने अनुगमनको क्रममा उक्त निर्देशनको अवज्ञा गरी यथावत् बिक्रीवितरण गरेको पाइएमा त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारबाहीको प्रकिया अगाडि बढाइने जनाएको छ ।
केन्द्रको अनुगमनको क्रममा कतिपय विद्यालयहरूले कक्षा २, कक्षा ३ र कक्षा ६ मा स्वीकृत नयाँ पाठयक्रमअनुसारका पाठयपुस्तक तथा पाठ्यसामग्रीको सट्टा पुरानो पाठयक्रम अनुसारकै पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्ने गरी विद्यार्थीहरूलाई पाठ्यपुस्तक तथा पाठ्यसामग्री खरिदको निम्ति सूची उपलब्ध गराएको, तोकिएको विषयका अलावा सन्दर्भ सामाग्री भनी अनावश्यक सङ्ख्यामा पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू खरिद गर्न अभिभावकहरूलाई बाध्य पारिएको भेटिएको जनाएको छ । केन्द्रले त्यस्ता विद्यालयका प्रधानाध्यापकहरूलाई स्पष्टीकरण माग गरिसकेको सुचना मार्फत जनाएको छ ।
केन्द्रले नेपाल सरकारको स्वीकृत पाठयक्रमभन्दा बाहिरका तथा पुरानो पाठ्यक्रमअनुसारका पाठयपुस्तक तथा पाठ्यसामग्रीहरू प्रयोग नगर्न नगराउन सम्बन्धित सबैका लागि निर्देशन दिएको छ ।
निर्देशनको अवज्ञा गरी यथावत् प्रयोग भएको पाइएमा सम्बन्धित विद्यालय र प्रकाशकहरूलाई कारबाही गरीने केन्द्रले जनाएको हो । पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरूमा मूल्य उल्लेख नभएको, पुरानो मूल्यसूचीमा कालो पोती स्टिकर टाँस गरी नयाँ मूल्य तोकेको, नेपाल सरकारले निर्धारण गरेको भन्दा अधिक मूल्य उल्लेख गरेको समेत अनुगमनका क्रममा भेटिएको केन्द्रले जनाएको छ ।
यस्तै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम स्वीकृत पाठ्यक्रमअनुसार सामाजिक अध्ययन, मानव मूल्य, शिक्षा लगायत नेपाली कला संस्कृति र मौलिक पहिचानमूलक विषयको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनुपर्ने व्यवस्थाअनुसार यस वर्ष कक्षा १,२, ३, ६, ११ र १२ मा उक्त विषयहरू नेपाली माध्यमबाट पठनपाठन गर्न विद्यालयलाई केन्द्रले निर्देशन दिएको छ ।
केन्द्रले अभिभावक र विद्यार्थीलाई पनि चनाखो भएर पाठयक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यपुस्तक तथा पाठयसामग्रीहरू खरिद तथा उपयोग गर्न सुचित गरेको छ ।