काठमाडौँ - मध्यपश्चिम विश्वविद्यालयको १५ औँ सभाको बैठक भदाै ११ गते मंगलवार प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार, काठमाडौँमा सम्पन्न भएको छ। सभाको अध्यक्षता गर्दै प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयकाे भौतिक एवं शैक्षिक क्षेत्रमा प्रगति गर्दै समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको कुरा व्यक्त गरेका छन्।
ओलीले कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोत साधनको उच्चतम उपयोग गर्दै मध्यपश्चिम विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा आफ्नो भूमिका खेल्नु पर्ने कुरा उल्लेख गरेका हुन्।
साथै विश्वविद्यालयमा रहेका चुनौती र समस्या प्रति सरकार र आफु गम्भीर हुनुका साथै उचित सामाधान तर्फ आफ्नो ध्यान केन्द्रित रहेको कुरा बताए।
सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा देवराज अधिकारी,सांसदहरू, पुर्व मन्त्री, राष्ट्रिय योजना आयोगका माननीय सदस्य, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्य, अर्थ मन्त्रालयका सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लगायत विश्वविद्यालयका आमन्त्रित विशिष्टहरूको उपस्थिति रहेको थियो।
विश्वविद्यालयको पन्ध्रौँ सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा ध्रुवकुमार गौतमले प्रस्तुत गरेका थिए। साथै उनले विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत नभएको तर २०७४ साल यता थुप्रै कार्यक्रम तथा विषयहरु थपिएको र विद्यार्थी संख्या बढेको भएता पनी थप दरबन्दी स्वीकृत नहुँदा आवश्यक दरबन्दी बिना नै राष्ट्रलाई लागि अती आवश्यक पर्ने प्रावधिक जनशक्ती तथा अन्य जनशक्ति उत्पादन गर्ने कार्यमा अत्यन्तै कठिनाई भएकोले आवश्यक दरबन्दी स्वीकृती कार्यदेशका लागि सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यू समक्ष सादर अनुरोध गरेका थिए।
रजिष्ट्रार प्रा. डा नारायण प्रसाद पौडेलले सभाको संचालन गरेका थिए भने गत आ.व २०८१ / ०८२ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पेश गरेका थिए। सभामा आ.व २०८१/०८२ को प्रस्तावित बजेट सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव तथा मपवि आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो भने सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएका थिए। विश्वविद्यालयको १५ औं सभाको समापन शिक्षा मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या गरेकी थिइन्।