काठमाडाैँ - शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)ले आफ्नो प्रथम वार्षिकाेत्सव मनाएको छ। एप्क्यानले आफ्नो पहिलो स्थापना दिवस साप्ताहिक रुपमा विभिन्न कार्यक्रमकाे आयाेजना गर्दै मनाउने जनाएको हाे।
एप्क्यानले पहिलो दिन अरन्य बुटिक होटलमा रक्तदान कार्यक्रमका साथै शैक्षिक परामर्श व्यवसायीकाे माझमा केक काटेर आफ्नाे पहिलाे दिनकाे कार्यक्रम गरेकाे छ।

बिहीबार दोस्रो दिन (भदौँ ६ गते) श्री ठूली बम्ह्यायणी निमावि चागुनारायण भक्तपुरमा निशुल्क स्वास्थ्य सिभिर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम, तेस्रो दिन एप्क्यान एक दिने फुटसल कार्यक्रम र अन्तिमको दिन काठमाडौँ महानगरपालिका वडा नं २९ भित्र वृक्षारोपण गर्ने भएको छ।

शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) को स्थापना दिवसको अवसरमा शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, ईक्यान अध्यक्ष शेषराज भट्टराई, ईक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आईरिन अध्यक्ष हेमन्त भट्टराई, नायर अध्यक्ष उद्दव बहादुर खड्का, जालशान अध्यक्ष रमेश देवकाेटा, एइक्यान अध्यक्ष किशाेर तिवारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा एप्क्यान अध्यक्ष प्रज्जवल बस्नेतले संघले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित बनाउन र व्यवसायीलाई एकत्रित गर्दै मार्ग निर्देश गर्न भूमिका खेलेकाे बताए। उनले भने,' व्यवसायीका समस्यालाई समाधान गर्दै अघि बढ्न सफल भएका छाैँ। आउने दिनहरूमा सबै शैक्षिक परामर्श व्यवसायी संघहरूसँग हातेमालाे गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु।'

कार्यक्रममा बाेल्दै महासंघका अध्यक्ष राजेन्द्र बरालले सरकारसमक्ष व्यवसायीले भोग्नुपरेका समस्याका विषयमा आवाज उठाई राज्यलाई झकझकाउने काम गरेकाे, व्यवसायीलाई नविकरणका लागि आह्वान गर्ने र हकहितका लागि काम गरेकाे बताए। 'संघहरू एक ठाउँमा उभिएर बसेन भने भविष्यमा गाह्राे हुन्छ। व्यवसायी संघलाई व्यवस्थित बनाउन सबैजना एक हौँ एजेन्डा तय गर्नुपर्छ।महासंघको ५१ सदस्यीय कार्यसमिति भदौँ महिना भरिमा हामी घोषणा गर्नेछाैँ।' महासंघलाई क्रियाशिल बनाएर समग्र शैक्षिक परामर्श व्यवसायीकाे आवाज महासंघ मार्फत उठाउने उनकाे भनाई छ।

यस्तै कार्यक्रममा ईक्यानका अध्यक्ष शेषराज भट्टराईले हामीले नेपाली विद्यार्थी र अभिभावकको इच्छा अनुसार नै गुणस्तरीय शिक्षाको लागि संसारको धेरै यूनिभर्सिटिहरूमा विद्यार्थीहरू पठाउछौँ तर हामीलाई नै विभिन्न खालको डर किन हुन्छ? भनि प्रश्न उठाउँदै सहयात्राको लागि आग्रह गरे।

कार्यक्रममा बाेल्दै आइरिनका अध्यक्ष हेमन्त भट्टराईले संघमा सहमति गरि महासंघमा जान आफूहरु तयार भएकाे बताए। उनले भने,' यस व्यवसायलाई मर्यादित बनाउन खटौँ, हामीले यो उमेरमा आएर पेशा बदल्न पनि सक्दैनौँ। महासंघको अवधारणालाई साथ दिई अगाडी बढ्नुकाे विकल्प छैन।'
कार्यक्रममा अन्य वक्ताहरूले एप्क्यानकाे स्थापना दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई एप्क्यानका सदस्य नरेश सेडाईले सञ्चालन गरेका थिए भने महासचिव अनिल शर्मा पाैडेलले धन्यवाद ज्ञापनसहितकाे मन्तव्य राखेका थिए।






