काठमाडाैँ - क्यानडा स्थित नेपाली राजदूतावासले क्यानडा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीका लागि ७ बुँदे सुझाव दिंदै सचेत गराएको छ।
दूतावासले अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको र आउनुअघि नै बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको हाे।
अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको छ।
यस्तै, दूतावासले जारी गरेका सूचना (वेबसाइट, फेसबुक पेजमा उपलब्ध छन्) लाई ध्यान दिने, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिइएको छ।
केही कलेजहरूले अतरंजित प्रचारप्रसार गर्ने भएकोले त्यसमा भरपर्दा समस्यामा पर्ने भएकोले पर्याप्त जानकारी लिन दूतावासले सुझाएको हो।
यस्तै, क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरू, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिनु दूतावसाले सुझाव दिएको छ।
नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन भन्दै दूतावासले अभिभावकलाई पनि अध्ययन, आवास र खानेबस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्रै पठाउन सुझाव दिएको छ।