काठमाडौँ - महानगरपालिका भित्रको 'सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय' मा अहिले ४१ जना विद्यार्थी छन्।
काठमाडौँ महानगरपालिकाले उनीहरूको इच्छा, आवश्यकता र आकर्षणका आधारमा विभिन्न खालका व्यवहारिक ज्ञान तथा सिप प्रदान गर्दे आइरहेको छ।
अरुले भनेको कुरा केही मात्र बुझ्न सक्ने खालका विद्यार्थीलाई विद्यालयले खाम बनाउने र विद्यार्थीको रुचि अनुसार चित्रकला लगाएतको सिपहरु प्रदान गर्दे आएको महानगरपालिकाले जानकारी दिएको छ।
सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयले सुस्त मनःस्थिति भएका बालबालिकाहरुलाई विभिन्न खालका सिप जस्तै, कौसीका गमलामा विरुवा रोपेर मल हाल्ने, गोड्ने र उनीहरूको रोजाइका अनुसार नृत्य, गायन तथा वादन जस्ता सिपहरु प्रदान गर्दे आइरहेको छ।
बौद्धिक विकास नभएका कारण असल र खराब तथा आफू अनुकुल र प्रतिकुल अवस्था छुट्याउन नसक्ने बालबालिकालाई यस विद्यालयले यति धेरै जिवनपयोगी सिप हासिल गर्ने मौका दिनु ठूलो उपलब्धिको हकदार रहेको महानगरपालिकाले जनाएको छ।
विद्यालयले सीमित स्रोतबाट भएको व्यवस्थापन अनुकरणीय रहेको महानगरको शिक्षा विभागले जानकरी दिएको छ।
सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षालाई समावेशी मात्र होइन, पहुँचमा समता प्रदान गर्नुपर्ने हुँदा सामान्यभन्दा फरक अवस्थाका बालबालिकाको शैक्षिक, मानसिक, सामाजिक विकासका लागि गरिएका सिकाइ र विकास अभ्यास आदान प्रदान व्यवस्थापनको दायरा फराकिलो हुन सक्छ भनि आफ्नो व्यक्तिगत राय राखेका छन्।
महानगरपालिका प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलले आर्थिक, सामाजिक, बौद्धिक, मानसिक तथा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिकाले शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भनेर महानगरपालिकाले शिक्षामा लगानी बढाएको बताए।सुस्त मनःस्थिति भएका बालबालिकाकालाई अध्ययन गराउन खटिएका शिक्षकहरुको योगदान प्रशंसा गरेर नपुग्ने पोखरेलको धारणा रहेको छ।
विद्यालयका प्रधानाध्यापक सोमबहादुर श्रेष्ठका अनु २०४३ सालमा नक्सालमा स्थापना गरिएको यस विद्यालय बागबजारहुँदै अहिले सिनामंगल पुगेको छ। विद्यालयमा ६ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई भर्ना गरेर अध्ययन गराउने गरिएको छ। तर, एक पटक भर्ना भएर पढ्न थालेका विद्यार्थीहरुलाई अन्यत्र कतै लैजाने विकल्प नभएपछि ३५ वर्ष सम्मका व्यक्तिहरुलाई पनि अध्ययन गराइरहनु परेको प्राचार्य श्रेष्ठ बताए।
महानगरपालिकाभित्र ४ प्रकारका विशेष विद्यालय छन्। वडा नं.३१ भीमसेनगोलामा रहेको निर्मल बाल विकास आधारभूत विद्यालयमा सुस्त मनःस्थिति भएका बालबालिका मात्र छन्।
यस्तै वडा नं. ९ सिनामंगलमा रहेको बालापीठ आधारभूत विद्यालय दृष्टिविहिन (डिफ व्लाइन्ड) बालबालिकाहरूका लागि सञ्चालित एक मात्र विद्यालय हो।
यस्तै नक्सालमा केन्द्रिय बहिरा विद्यालय छ। यो श्रवण क्षमता नभएका बालबालिकाहरूका लागि हो। जेलभित्र ३ वटा विद्यालय छन्। यीमध्ये २ वटा छात्रका लागि र एउटा छात्राका लागि सञचालन गरिएको विद्यालय हो।