काठमाडौँ- विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरूको छातासंगठन आईप्यानले ‘नेपालमै बसौँ, नेपालमै पढौँ’ भन्ने मुल नाराका साथ शैक्षिक मेलाको आयोजना गरेको छ। आईप्यानले काठमाडौँको नयाँ बानेश्वर स्थित एभरेस्ट होटलमा ‘अन्तर्राष्ट्रिय शिक्षा नेपालमै’ भन्दै एक दिने शैक्षिक मेलाको आयोजना गरेको हो।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै दिने प्रतिवद्धता जनाएका कलेजहरूले विद्यार्थीलाई अध्ययन र अवसरका विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको आईप्यानले जनाएको छ।

आईप्यानका अध्यक्ष लक्ष्मण केसीले नेपालमै अन्तर्राष्ट्रिय डिग्री लिएर नेपालमै पेसा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले विद्यार्थीलाई विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजमा अध्ययन गर्न सुझाब दिएका छन्। उनले विद्यार्थी विदेश गएर भन्दा नेपालमै बसेर अवसर प्राप्त गर्न सक्ने र पछिल्लो समय आईटी क्षेत्रका जनशक्ती उत्पादनमा आईप्यानका सदस्य कलेजहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

मेलामा आईप्यानसँग आवद्ध २५ भन्दा बढी कलेजका स्टलबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श प्रदान गरिएको थियो। मेलामा विद्यार्थीले आफूले पढ्न चाहेको विषयमा सम्बन्धित कलेजका प्रतिनिधिसँग कलेजको भौतिक शैक्षिक पूर्वाधार, करिअर स्कोप, अध्ययन पश्चात रोजगारीको अवसर, छात्रवृत्ति लागायतका विषयमा जानकारी लिएका थिए।

मेलामा विद्यार्थीका लागि ‘लक्कि ड्र’ मार्फत विभिन्न गिफ्टह्याम्परको व्यवस्था गरिएको थियो। मेलालाई ३ हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए।

नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा कक्षा सञ्चालन गर्न ५९ वटा शिक्षणसंस्थालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्रदान गरिसकेको छ।




