काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने दाबी गरेका छन्। काठमाडौँमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले बालबालिकाहरु अभिभावकविहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताए।बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने उनको भनाइ थियो। बालबालिकाहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको उनले बताए। ‘बालबालिका सडकमा हुनु हुँदैन। सरकारमा आउनेबित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु कि एक वर्षभित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ,’ उनले भने, 'हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावकविहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन। सरकारले त्यसको जिम्मा लिनुपर्छ। त्यसकारण सरकारले त्यसको जिम्मा लिन्छ।
प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताए। युवाहरूलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताए।
यस्तै कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गरे। प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे। उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए। उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताए।
सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसंघको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताए।