काठमाडाैँ- विश्वविद्यालय शिक्षा रोजगारमूलक र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान विद्यार्थीहरू उत्पादन हुने खालको हुनुपर्छ। २०४६ सालपछि उच्च शिक्षामा नयाँ आयाम थपिए पनि खासै गति लिन भने सकेको छैन। देश विकासको लागि उच्च शिक्षाको ठूलो महत्व हुन्छ। गुणस्तरीय शिक्षा दिनसकेमा मात्र दक्ष जनशक्ति उत्पादन हुन्छन्।
उच्च शिक्षा प्रदायक संस्थाहरूले समय–सापेक्ष पाठ्यक्रमा परिवर्तन गर्दै लान आवश्यक छ। विश्वविद्यालय शिक्षा सरकारी, गैरसरकारी र रोजगार बजारमा आवश्यक पर्ने दक्ष जनशक्ती उत्पादनमा केन्द्रित हुनुपर्छ। आधुनिक ज्ञान र सीपलाई प्रविधिसँग जोड्दै अघि लान सके मात्र विश्वविद्यालय शिक्षा प्रभावकारी हुन सक्छ।
विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिहरू बहुआयामिक, प्रतिस्पर्धात्मक र वैज्ञानिक ढंगले अनुसन्धान तथा खोजमूलक कार्यमा लाग्ने हुनुपर्छ। सानातिना गुटगत र व्यक्तिगत स्वार्थलाई त्यागी देशको आर्थिक विकास र समृद्धिको लागि सरकारले प्रयत्न गर्नुपर्छ। उच्च शिक्षा अध्ययन गर्ने कुल विद्यार्थीमध्ये ८० प्रतिशत साधारण शिक्षा र २० प्रतिशत मात्र प्राविधिक शिक्षा अध्ययन गर्ने भएकाले उच्च शिक्षा नीति बनाउँदा प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिनुपर्छ। नेपालमा सञ्चालित उच्च शिक्षा प्रादायक संस्थाको शैक्षिक गुणस्तरलाई परीक्षण गर्नुपर्छ।
विश्वविद्यालय शिक्षालाई व्यवस्थित गर्न सरकारले ल्याउने तयारी गरेको उच्च शिक्षा ऐनको मस्यौदालाई सरोकारवालासँग छलफल गरेर प्रभावकारी ढंगबाट अघि बढाउन आवश्यक छ। विद्यार्थी विदेश अध्ययनमा जाने लहर बढेसँगै नेपालको विश्वविद्यालय शिक्षा धरासायी बन्न पुगेको छ। विश्वविद्यालय शिक्षामा गुणात्मक सुधार गर्न सरकारको नेतृत्वले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ।
नेपालबाट उच्च शिक्षा अध्ययन गर्न गत आर्थिक वर्ष २०८०÷८१ मा १ लाख १२ हजार ५९३ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्। यसले पनि कक्षा १२ उत्तीर्ण हुने वित्तिकै विद्यार्थीले नेपाल भन्दा बाहिरका शैक्षिक गन्तव्यलाई रोजेको स्पष्ट हुन्छ।
विश्वविद्यालय र क्याम्सहरूका केही कार्यक्रममा विद्यार्थी संख्या न्यून भएपछि खर्च धान्नै मुस्किल पर्ने अवस्था आएको छ, जसले गर्दा विश्वविद्यालय शिक्षा नै ‘धराप’मा परेको छ। विद्यार्थी संख्या घटेसँगै विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षामा कोटा भन्दा कम विद्यार्थीले आवेदन दिने गरेका छन्। विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षामा कोटा भन्दा कम विद्यार्थीले आवेदन दिएपछि पुनःपरीक्षा सञ्चालन गरेका थिए।
नेपालमा विश्वविद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्ने र अवसरको उपलब्धतालाई बढाउने हो भने विदेश जाने विद्यार्थीको संख्यामा कमि ल्याउन सकिने तर्फ विज्ञले सुझाब दिएका छन्। अहिले प्राविधिक धार तर्फ केही विषयमा सिमित कोटा भएका कारण पनि विद्यार्थी विदेशीएका छन्। यसलाई ध्यानमा राख्दै सरकारले प्राविधिक शिक्षालय थप गर्नेतर्फ ध्यान दिनुपर्छ।